संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिबद्ध छौँ: रवि लामिछाने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ असार २०८३, शनिबार
2 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधानको मर्मलाई आत्मसात् गर्दै आफ्नो पार्टी अघि बढ्ने बताएका छन।

देशलाई सुशासन, समृद्धि र सामाजिक न्यायको बाटोमा लैजान रास्वपाले एउटा स्पष्ट सपना देखेको भन्दै उनले उक्त सपना पूरा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए।

- Advertisement -
Ad image

पार्टीको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा शनिबार चितवनको भरतपुरस्थित दियालो फुडल्यान्डमा आयोजित केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले उक्त कुरा बताएका हुन\।

विगतका त्याग र बलिदानको जगमा उभिएर नै आजको परिवर्तन सम्भव भएको भन्दै उनले ती उपलब्धिको रक्षा गर्नु सबैको दायित्व भएको उल्लेख गरे।

सम्बोधनका क्रममा सभापति लामिछानेले अप्ठ्यारो र संकटको समयमा साथ दिने केन्द्रीय सदस्य तथा नेता–कार्यकर्ताप्रति आभार प्रकट गरे।

आफूमाथि लागेका विभिन्न आरोप र कानुनी प्रक्रियाका बेला पार्टी परिवारले देखाएको ऐक्यबद्धताले थप ऊर्जा मिलेको उनको भनाइ थियो।

पार्टी स्थापनादेखि अहिलेसम्मको यात्रा चुनौतीपूर्ण रहेको स्मरण गर्दै उनले पार्टीको आन्तरिक लोकतन्त्र र विधिको शासनमा आफूले कहिल्यै सम्झौता नगर्ने स्पष्ट पारे।

पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिँदै संस्थापक सभापति लामिछानेले भने, ‘आन्तरिक लोकतन्त्र र निष्ठा मेरो लागि सम्झौता गर्ने विषय होइनन्। पार्टीका साथीहरूको अधिकार कुण्ठित भयो भने त्यसले ढिलो–चाँडो दुर्घटना निम्त्याउँछ। त्यसैले हामी होसियारी र सुझबुझका साथ अघि बढ्नुपर्छ।’

आगामी नेतृत्व चयनका लागि हुने प्रतिस्पर्धालाई स्वस्थ र मर्यादित बनाउन आह्वान गर्दै उनले महाधिवेशनले सक्षम नेतृत्व छनोट गर्ने विश्वास व्यक्त गरे।

केन्द्रीय समितिको यो अन्तिम बैठकले महाधिवेशनका लागि प्रस्तुत गरिने विधान संशोधन र अन्य प्रतिवेदनहरूलाई अन्तिम रूप दिने रास्वपाले जनाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्