सरकारमाथि खनिए ओली: ‘प्रधानमन्त्रीकाे अभिव्यक्ति देशद्राेही र राष्ट्रघाती’

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० जेष्ठ २०८३, बुधबार
4 Min Read
Aa

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सरकारमाथि चर्काे आलाेचना गरेका छन् । उनले प्रधानमन्त्री बालेन्द्र शाहकाे हालैकाे नेपाल भारतकाे सीमा बारेकाे टिप्पणीबारे चर्काे आलाेचना गरे । बालेनकाे टिप्पणी अकुटनीतिक अराजनीतिक भएकाे उनकाे धारणा छ । बालेनले स‌सदमा देशद्राेही र राष्ट्रघाती अभिव्यक्ति दिएकाे बताए ।

नेपालले बालेन जन्मनुभन्दा अघिदेखि परराष्ट्र नीति अपनाएकाे बताएका उनले भुलचुकले सरकारकाे प्रमुख हुन पुगेकाले यसाे गर्न नमिल्ने र गर्न नदिने बताए ।

- Advertisement -
Ad imageAd image

नेपालमा राणा शासन, पञ्चायती व्यवस्था र राजतन्त्रजस्ता शासन प्रणालीहरू समाप्त भइसकेको उल्लेख गर्दै अहिले देखिएको अराजकतन्त्र पनि धेरै समय नटिक्ने बताएका छन्।

अध्यक्ष ओलीले उक्त आयोगको कुनै वैधानिक मान्यता नभएको जिकिर गर्दै आफूले सम्पत्ति विवरण समेत नबुझाउने स्पष्ट पारेका हुन् । ओलीले अन्य कसैले बयान दिए पनि आफ्नो तर्फबाट आयोगलाई कुनै सहयोग नहुने र सरकारले जे सक्छ, त्यो गर्न खुला चुनौती दिएका छन् ।

‘यस्ता आयोगलाई हामी मान्यता दिदैनौं । अरु कसैले बयान दिए पनि म चाहिँ बयान दिन्नँ,’ ओलीले भने, ‘त्यसमा सम्पत्ति विवरण भरेर पठाइदिनँ । जे जे गर्न सक्छ, गरोस् ।’

अध्यक्ष ओलीले वर्तमान सरकार पूर्वाग्रह र प्रतिशोधको भावनाबाट ग्रसित रहेको आरोप लगाउँदै विपक्षी दलहरूलाई राजनीतिक रूपमा फसाउन र कमजोर पार्नका लागि मात्रै आयोग गठन गरिएको दाबी गरे ।

वर्तमान राज्य संयन्त्र न्यायसंगत ढंगले चल्न नसकेको टिप्पणी गर्दै उनले भने, ‘यो राज्य राज्य जस्तो होइन, यो पूर्वाग्रहको पोको हो । प्रतिशोधको पोको हो । देशद्रोही क्रियाकलाप गर्ने प्रायोजित भवितव्यले बनेको चिज हो । यसले विपक्षीलाई फसाउन यस्ता क्रियाकलाप गरेको छ ।’

सम्पत्ति विवरण माग गरिएकोप्रति तीव्र आक्रोश पोख्दै अध्यक्ष ओलीले आफ्नो सम्पत्ति सम्बन्धी विवरण ‘खरानी’ भइसकेको भन्दै सरकारमाथि कडा व्यङ्ग्य प्रहार गरे । उनले आक्रोशित मुद्रामा थपे, ‘मेरो सम्पत्ति विवरण खरानी भरिदिने मैले । सम्पत्ति विवरण फेरि चाहियो ? आगो लगाएर पुगेन, सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार । के को सम्पत्ति विवरण ?’

एमाले केन्द्रीय संगठन विभागद्वारा आयोजित ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै ओलीले समय सधैं एकनास नहुने भएकाले कसैले पनि धेरै उत्साहित वा अहंकारी बन्न नहुने चेतावनी दिए।

उनले नेपालका राजनीतिक परिवर्तनहरूलाई स्मरण गर्दै विभिन्न शासन प्रणालीहरू इतिहास बनेको उल्लेख गरे। अब अराजकतन्त्रको अन्त्य पनि निश्चित रहेको उनको भनाइ थियो।

ओलीले गएको भदौ २३ र २४ गते भएका घटनाहरूलाई पूर्वनियोजित र षड्यन्त्रपूर्ण आपराधिक गतिविधि भएको दाबी गरे। नवयुवाको हत्या तथा अन्य आपराधिक क्रियाकलापलाई केही समूहले क्रान्तिको नाम दिन खोजे पनि त्यसलाई राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले नै षड्यन्त्रपूर्ण र प्रायोजित घटना ठहर गरेको उनको भनाइ थियो।

“यो मैले भनेको होइन, राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले भनेको हो। भदौ २३ र २४ को आक्रमण पहिल्यै षड्यन्त्र गरिएको प्रायोजित घटना थियो,” ओलीले भने।

उनले उक्त षड्यन्त्र एमालेविरुद्ध मात्र नभई राष्ट्रविरुद्ध पनि लक्षित रहेको बताए। “त्यो षड्यन्त्र एमालेका विरुद्धमा त थियो नै, त्यो राष्ट्रको विरुद्धमा पनि थियो,” उनले भने।ओलीले जनताबाट निर्वाचित बहुमत प्राप्त सरकारलाई संवैधानिक र संसदीय प्रक्रियाबाट हटाउन नसकेपछि अवैधानिक तथा आपराधिक माध्यम अपनाइएको आरोप लगाए।

“हाम्रो सरकार अत्यधिक बहुमतको सरकार थियो। त्यस सरकारलाई संवैधानिक, कानुनी र संसदीय बाटोबाट ढाल्ने प्रयास गरियो। त्यो सम्भव नभएपछि अवैधानिक र आपराधिक मार्गबाट विस्थापित गर्ने षड्यन्त्र भयो,” उनले भने।

उनका अनुसार सरकारविरुद्ध विभिन्न प्रकारका गतिविधिका लागि तालिमसमेत सञ्चालन गरिएको थियो। आगजनीका घटनामा अत्यधिक ज्वलनशील पदार्थ प्रयोग गरिएको, देशव्यापी रूपमा आगलागी गराउने योजना बनाइएको तथा गुगलमार्फत ठेगाना खोजेर नेताहरूका घरमा आगजनी गरिएको दाबी उनले गरे।

ओलीले लोकतान्त्रिक प्रणाली, सुशासन र विकासका उपलब्धिमाथि प्रहार गर्ने प्रयास सफल नहुने भन्दै एमाले कार्यकर्तालाई संगठन सुदृढीकरण र जनतामाझ पार्टीको सन्देश पुर्‍याउन सक्रिय हुन आग्रह गरे।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्