देउवा र आरजुविरुद्ध इन्टरपोलले रेड कर्नर नोटस जारी गर्न मानेन् !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ बैशाख २०८३, बुधबार
2 Min Read
Aa

काठमाडौं – इन्टरपोलले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गर्न पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र देउवा पत्नीसमेत रहेकी पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारी गर्न अस्वीकार गरेकाे छ ।

देउवा दम्पतीबिरुद्ध सम्बद्ध कसुर नदेखिएको र एकै पटक सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढाएको विषयलाई पनि रेड नोटिसका लागि आवश्यक सर्तहरू नपुगेको भन्दै इन्टरपोलले प्रश्न उठाएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा जिल्ला अदालत काठमाडौंले २४ चैत २०८२ मा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि विभागले पक्राउ पुर्जीपत्र र अनुसन्धान भइरहेको कसुर उल्लेख गरी रेड नोटिस जारीको प्रक्रिया अघि बढाउन प्रहरीमार्फत इन्टरपोललाई अनुरोध गरेको थियो । देउवा दम्पतीहाल हङकङमा रहेको बताइए पनि यसबारे औपचारिक विवरणहरू सरकार र देउवाको परिवारबाट आधिकारिक रूपमा सार्वजनिक भएको छैन ।

- Advertisement -
Ad image

२४ भदौको जेन–जी आन्दोलनमा निवासमा आक्रमणमा परेका दुवैजनालाई सेनाको सहयोगमा उद्धार गरी अस्पताल लगिएको थियो । त्यसलगत्तै उनीहरू उपचारका लागि भन्दै सिंगापुर गएका थिए । त्यहाँबाट फर्केपछि पुनः देउवा त्रिभुवन विमानस्थलबाट सिंगापुर गएका थिए भने आरजु भारत हुँदै सिंगापुर पुगेकी थिइन् । उनीहरू देशबाहिर रहेकै बेला सरकारले उनीहरूलाई सम्पत्ति शुद्धीकरण अनुसन्धानको दायरामा तानेको थियो ।

सुरक्षा स्रोतका अनुसार इन्टरपोलले देउवा दम्पतीबिरुद्धको सम्बन्धित कसुर कुन हो ? कुन-कुन कसुरमा अनुसन्धान भइरहेको छ ? अनुसन्धान कुन अवस्थामा पुगेको छ भन्ने विषय उठाएको छ । प्रहरी प्रधान कार्यालय स्रोतले रेड नोटिस जारी गर्न पठाइएको पत्र नोटिस जारी नभई फिर्ता आएको पुष्टि गर्‍यो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्