ट्रम्पको घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, स्ट्रेट अफ हर्मुजमा जहाजलाई निकास दिइने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ बैशाख २०८३, सोमबार
2 Min Read
Aa
President Donald Trump speaks with the media before boarding Air Force One, Monday, March 23, 2026, at Palm Beach International Airport in West Palm Beach, Fla. (AP Photo/Mark Schiefelbein)

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुजमा रोकिएका व्यापारिक जहाजहरूलाई सुरक्षित निकास दिने घोषणा गरेसँगै विश्व बजारमा कच्चा तेलको मूल्य ओरालो लागेको छ। ट्रम्पले आइतबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको उक्त प्रतिबद्धतापछि सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको हो।

सोमबार ब्रेन्ट क्रुडको मूल्य ६४ सेन्टले घटेर प्रतिब्यारेल १०७.५३ डलर कायम भएको छ। त्यसैगरी, अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटीआई) को मूल्यमा पनि ८४ सेन्टको गिरावट आउँदै प्रतिब्यारेल १०१.१० डलरमा झरेको छ। राष्ट्रपति ट्रम्पले इरान, मध्यपूर्व र अमेरिकाको बृहत्तर हितलाई ध्यानमा राख्दै प्रतिबन्धित जलमार्गबाट व्यापारिक गतिविधि सहज बनाउने र जहाजहरूलाई सुरक्षित रूपमा बाटो देखाउने बताएका छन्।

- Advertisement -
Ad imageAd image

ट्रम्पको पछिल्लो कदमले बजारमा केही सकारात्मक सन्देश दिए पनि अमेरिका र इरानबीच स्थायी शान्ति सम्झौता हुन नसक्दा तेलको मूल्य अझै पनि १०० डलर माथि नै रहेको छ। स्ट्रेट अफ हर्मुजमा व्यापारिक आवागमन अझै पूर्ण रूपमा सहज हुन सकेको छैन। दुई देशबीच भइरहेका विभिन्न चरणका वार्ताहरू हालसम्म कुनै ठोस निष्कर्षमा पुग्न सकेका छैनन्।

विश्लेषकहरूका अनुसार दुवै पक्ष आ–आफ्नो अडानमा अडिग रहेका कारण शान्ति प्रक्रिया सुस्त बनेको हो। राष्ट्रपति ट्रम्पले तेहरानसँगको आणविक सम्झौतालाई मुख्य प्राथमिकतामा राखेका छन्। अर्कोतर्फ, इरानले भने युद्धको पूर्ण अन्त्य नभएसम्म र खाडी क्षेत्रमा लगाइएको ढुवानी नाकाबन्दी नहटेसम्म आणविक मुद्दामा कुनै पनि छलफल नगर्ने अडान कायम राखेको छ।

यसैबीच, पेट्रोलियम निर्यातक देशहरूको संगठन (ओपेक प्लस) ले बजारको माग र आपूर्तिलाई सन्तुलनमा राख्न आगामी जुन महिनाका लागि तेल उत्पादनको लक्ष्य बढाउने निर्णय गरेको छ। नयाँ निर्णयअनुसार दैनिक १ लाख ८८ हजार ब्यारेल थप तेल उत्पादन गरिनेछ, जसले आगामी दिनमा बजारको दबाबलाई केही कम गर्ने अपेक्षा गरिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्