ट्रम्पका विशेष दूतले रास्वपा सभापति रविसँग भेटे, अन्य नेता भेटेनन्

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ बैशाख २०८३, शनिबार
2 Min Read
Aa

काठमाडौं – दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी विशेष दूत सर्जियो गोरले नेपाल भ्रमण सम्पन्न गरेका छन् । भ्रमणका क्रममा उनले नेपाल र संयुक्त राज्य अमेरिकाबीचको द्विपक्षीय साझेदारीलाई सुदृढ बनाउने विषयमा विभिन्न उच्चस्तरीय भेटवार्ता गरेकाे काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

विशेष दूत गोरले भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

- Advertisement -
Ad imageAd image

ती भेटमा नेपालको प्रविधि क्षेत्रमा अमेरिकी व्यावसायिक अवसरको विस्तार र व्यापारिक सम्बन्ध प्रवर्द्धन गर्ने विषयमा केन्द्रित रहेर छलफल भएको दूतावासले जनाएको छ । उनले नेपाली व्यवसायीसँग पनि व्यावसायिक सहकार्यका विषयमा विमर्श गरेका हुन् ।

भ्रमणकै क्रममा विशेष दूत गोरले सगरमाथा आधार शिविरको अवलोकन गरेका थिए । उनले सगरमाथा सफाइ अभियानमा संलग्न नेपाली संस्थाका योजनाबारे जानकारी लिनुका साथै अमेरिकी ड्रोन प्रविधिको उपयोगिताका बारेमा समेत जानकारी लिएका थिए ।

विशेष दूत गोरले भने, “संयुक्त राज्य अमेरिका नवप्रवर्तनमा अग्रणी छ र नेपालमा अत्याधुनिक प्रविधि भित्र्याउन स्थानीय कम्पनीसँग सहकार्य गर्न पाउँदा हामी प्रसन्न छौँ ।” उनले नेपालको नयाँ सरकारले दुई देशबीचको साझेदारीलाई थप बलियो बनाउने विश्वास समेत व्यक्त गरे ।

विशेष दूत गोरले काठमाडौँस्थित न्हूः छेँ बहामा आयोजित एक विशेष समारोहमा सहभागिता जनाए भने ऐतिहासिक भक्तपुर दरबार क्षेत्रको समेत भ्रमण गरेका थिए ।

सभापति लामिछानेसँग भेटेका उनले अन्य दलका शीर्ष नेता भने भेटेनन् । भेटमा नेपाल र संयुक्त राज्य अमेरिकाबिचको साझेदारीलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको उनले एक्स मार्फत जानकारी दिए ।

भेटका क्रममा राजदूत गोरले नेपालको नयाँ सरकारसँग परिवर्तनका लागि ठुलो जनादेश रहेको उल्लेख गर्दै सरकारद्वारा घोषित सुधारका योजना आशालाग्दो रहेको टिप्पणी गरे । उनले आगामी दिनमा नेपालसँग नजिक रहेर सहकार्य गर्न आफू उत्सुक रहेकोसमेत बताए ।

सभापति लामिछानेसँगको भेटको तस्बिर राख्दै गोरले लेखेका छन्, ‘नेपालमा नयाँ सरकारसँग परिवर्तनका लागि अतुलनीय जनादेश छ र उनीहरूले घोषणा गरेका सुधार निकै आशलाग्दा छन् । आगामी दिनमा नजिकबाट सहकार्य गर्न हामी उत्सुक छौँ ।’

गाेरले प्रधानमन्त्री बालेन्द्र शाहसँग भने भेट गरेनन् । शाहले यसअघि नै सरकारका तर्फबाट त्यस्ता भेटहरु परराष्ट्रमन्त्रीले गर्ने बताएका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्