काठमाडौं – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मंगलबार (८ वैशाख २०८३) बिहान एउटा ब्यानर पोस्ट गरे। एमालेले बुधबार मनाउन लागेको ७७ औँ स्थापना दिवसमा निमन्त्रणा गर्दै महासचिव पोखरेलले लेखेका छन्, ‘तपाईं काठमाडौंमा हुनुहुन्छ भने कार्यक्रममा सहभागी भई उत्सव र संकल्पको यस गौरवपूर्ण दिनलाई अझ गौरवमय बनाऔँ।’
यसअघि नेकपा (एमाले) का प्रायः हरेक ब्यानरमा अध्यक्ष केपी शर्मा ओलीको तस्बिर अनिवार्य जस्तै हुन्थ्यो। तर, महासचिव पोखरेलले पोस्ट गरेको ब्यानरमा एमालेका संस्थापकहरू पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठको तस्बिर मात्र राखिएको छ।
मंगलबार अधिकांश सञ्चारमाध्यमले यसलाई प्राथमिकताका साथ समाचार बनाएका छन्। सञ्चार माध्यमहरुले लेखेका छन्, ‘एमालेको ब्यानरबाट हटाइयो अध्यक्ष ओलीको फोटो।’ सञ्चारमाध्यमहरूमा ओलीको तस्बिरबारे बहस भइरहँदा यता पार्टीभित्र भने उनलाई अध्यक्ष पदबाटै हटाउने अन्तिम तयारी सुरु भएको छ।
अध्यक्षबाट ओलीलाई नहटाए पार्टी विघटनतर्फ उन्मुख हुने निष्कर्ष निकाल्दै उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेलसहित बहुमत पदाधिकारीहरू ओलीलाई पदच्युत गर्ने कसरतमा जुटेका हुन्। एक पदाधिकारीले भने, ‘सम्भवतः यही साता अध्यक्ष ओलीलाई हटाउने निर्णय सचिवालय बैठकबाट हुनेछ।’ स्रोतका अनुसार विशेष महाधिवेशन लगायतका लामा प्रक्रियामा जाँदा पार्टीको क्षयीकरण तीव्र हुने भएकाले सचिवालयबाटै हटाउने तयारी गरिएको हो। ती नेताले थपे, ‘सचिवालयले गरेको निर्णयलाई केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ।’ सोही केन्द्रीय कमिटीलाई आयोजक कमिटीमा रूपान्तरण गरी ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
यसअघि उपाध्यक्ष पौडेल र महासचिव पोखरेलसहितका अधिकांश पदाधिकारीहरूले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा व्यहोर्नुपरेको पराजयको जिम्मा लिँदै नैतिकताका आधारमा पद त्याग गर्न ओलीलाई पटक-पटक आग्रह गरेका थिए। तर, ओलीले अस्वीकार गरेपछि असन्तुष्ट नेताहरू उनलाई हटाउने निष्कर्षमा पुगेका हुन्।
स्रोतका अनुसार निर्वाचन परिणामलगत्तै महासचिव पोखरेलले बालकोट र गुण्डु पुगेर अध्यक्ष ओलीलाई ‘घुमाउरो भाषामा’ नेतृत्वबाट बिदा हुन आग्रह गरेका थिए। तर, ओलीले पोखरेलको प्रस्ताव स्वीकार्नुको साटो उल्टै आक्रोश व्यक्त गरेका थिए। उपाध्यक्ष पौडेलले त निर्वाचन परिणामलगत्तै पार्टी पुनर्गठनको एजेन्डा अघि सारेका थिए। ‘महासचिव कमरेड अध्यक्षलाई फकाएरै बिदा गर्नुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो, तर सहज रूपमा सम्भव नदेखेपछि अब बलपूर्वक नै हटाउनुपर्ने अवस्थामा पुग्नुभएको हो,’ एक नेताले बताए।
पछिल्लो समय ओलीलाई हटाउने सवालमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेलबीच बलियो समझदारी बनेको छ। स्रोतका अनुसार उनीहरू रणनीतिक छलफलका लागि प्रायः सँगै देखिने गरेका छन्। एक नेताले भने, ‘टिचिङ अस्पतालमा समेत दुवै नेता सँगै जानुले उनीहरूबीचको कार्यगत एकता स्पष्ट पार्छ।’ उनीहरूलाई उपमहासचिव योगेश भट्टराई लगायतका प्रभावशाली पदाधिकारीहरूको साथ रहेको दाबी गरिएको छ।
ओली निकट स्रोतका अनुसार आफूलाई हटाउने तयारी भएको थाहा पाएपछि ओली महासचिव पोखरेलसँग निकै क्रुद्ध बनेका छन्। टिचिङ अस्पतालमा भेट्न गएका एक नेतासँग ओलीले भनेका थिए, ‘काठमाडौंमा कहाँ बस्ने र के खाने भन्ने टुङ्गो नभएका बेला मैले सहयोग गरेँ, आज मेरै टाउकोमा प्रहार गर्न हिँडेका छन्। अध्यक्ष बन्ने ठुलो सपना देखेका छन्, विष्णुको माकुरी जालमा परेपछि थाहा पाउनेछन्।’ ओलीले महासचिव पोखरेलको विवाह, कोटेश्वरको घर र विगतका व्यक्तिगत सहयोगका प्रसङ्गहरू कोट्याउँदै आक्रोश पोखेको ती नेताले बताए।
उपाध्यक्ष रामबहादुर थापा बादल सहित सचिवहरु महेश बस्नेत, भानुभक्त्त ढकाल लगायतका केही पदाधिकारीहरुले पनि अहिले ओलीलाई साथ दिएका छन् । ५ बैसाखमा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका थिए । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि ५ बैसाखमा अस्पतालबाट डिस्चार्ज भएर भक्तपुरको गुण्डुस्थित निवास गएका थिए ।


प्रतिक्रिया दिनुहोस्