रविको मुद्दा पूर्ण इजलासमा पेस गर्न आदेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ चैत्र २०८२, आईतवार
2 Min Read
Aa

काठमाडौं – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित प्रतिवादीहरूको सम्पत्ति शुद्धीकरण रिट संशोधनविरूद्धको मुद्दा पूर्ण इजलासमा पेस गर्न आदेश दिएको छ।

आईतबार न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले उक्त मुद्दा सुनुवाइका लागि पूर्ण इजलासमा पेस गर्न आदेश गरेको प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। अब लामिछानेको मुद्दा संशोधन गर्ने निर्णयविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने छ।

- Advertisement -
Ad imageAd image

निवर्तमान महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन्। त्यो निर्णय बदर गर्न माग गर्दै युवराज सफल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले रिट दायर गरेका थिए। पूर्ण इजलास भनेको तीन वा तीन जनाभन्दा बढी न्यायाधीश सम्मिलित इजलास हो।

यसअघि न्यायाधीश सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले पनि चार दिन सुनुवाइ गरी रवि बाहेकको हकमा महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णयको फाइल झिकाउन आदेश दिएको थियो। फागुन २७ गते न्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले यस रिटको सुनुवाइ पूर्ण सुनुवाइका लागि पेस गर्न भनेको थियो।

रविका हकमा तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारीले पुस ३० गते निर्णय गरेकी थिइन्। तर त्यसको केही दिनपछि माघ २ गते त्रुटि सच्याइएको भन्दै सबै प्रतिवादीहरूविरूद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्न निकास दिइएको थियो। यसमा फरार रहेका जिबी राईसहित अन्य सबै प्रतिवादीहरूको समेत मुद्दा संशोधन गर्ने निर्णय गरिएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्