कपिलवस्तु घटनाप्रति राष्ट्रिय एकता दलको आपत्ति, दोषीमाथि कारबाहीको माग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ चैत्र २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय एकता दलले कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिका–२, बरगदामा मन्दिरमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। दलले उक्त घटनामा मन्दिर तोडफोड, पुजारीमाथि कुटपिट तथा धार्मिक आस्थामाथि प्रहार भएको भन्दै कडा शब्दमा निन्दा गरेको छ।

दलका प्रवक्ता दिलीप पंडितद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त घटना सामान्य आपराधिक क्रियाकलाप मात्र नभई राज्यको कमजोरी, प्रशासनिक निष्क्रियता र कानुनी शासनमाथिको चुनौतीका रूपमा लिइएको उल्लेख गरिएको छ। यस्ता घटनाले धार्मिक सद्भावमा असर पार्ने र शान्ति सुरक्षामाथि गम्भीर प्रश्न उठाउने बताइएको छ।

- Advertisement -
Ad imageAd image

यसैबीच, घटनाको विरोधमा भएका शान्तिपूर्ण आन्दोलनका क्रममा प्रहरीद्वारा बल प्रयोग तथा गोली प्रहार भएको र केही युवाहरू घाइते भएकोप्रति पनि दलले घोर आपत्ति जनाएको छ। शान्तिपूर्ण आन्दोलनमाथि भएको यस्तो दमनले सरकारको चरित्रमाथि प्रश्न उठाएको विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रिय एकता दलले घटनामा संलग्न दोषीहरूको तत्काल पहिचान गरी पक्राउ गर्न, कडा कानुनी कारबाही गर्न तथा प्रहरी दमनको निष्पक्ष छानबिन गर्न माग गरेको छ। साथै, घाइतेहरूको निःशुल्क उपचार र पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि जोड दिएको छ।
दलले यस्ता घटनाले जनस्तरमा आक्रोश बढ्न सक्ने चेतावनी दिँदै राज्यलाई छिटो, निष्पक्ष र प्रभावकारी कदम चाल्न आग्रह गरेको छ। साथै, नागरिकलाई संयमित रहँदै कानुनी बाटोबाट न्यायको खोजी गर्न अपिल गरेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्