काठमाडौँ – केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन सुरक्षालाई थप सुदृढ र प्रभावकारी बनाउने निर्णय गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको संयोजकत्वमा शनिबार सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।
उनका अनुसार निर्वाचन प्रयोजनका लागि तयार पारिएको एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार सबै सुरक्षा निकायहरूले काम गरिरहेको र सोहीअनुसार कर्मचारी परिचालन तथा व्यवस्थापन भइरहेको ब्रिफिङ सुरक्षा निकायका प्रमुखहरूले बैठकमा गरेका थिए।
बैठकमा आगामी दिनमा पनि सुरक्षा व्यवस्था चुस्त राख्ने सहमति भएको उनले जानकारी दिए। उनले बैठकमा निर्वाचन अभियानका क्रममा विभिन्न स्थानमा राजनीतिक दलहरुबीच देखिएका विवाद र घटनाहरुको समीक्षा गरिएको जानकारी दिँदै गैरकानूनी कार्यमा संलग्न जोसुकैलाई कानूनी दायरामा ल्याउने निर्णय भएको बताए।
सबै राजनीतिक दलहरुलाई नर्वाचन आचारसंहिताको पालना गर्नसमेत बठकले आग्रह गरेको उनले बताए।
यस्तै, बैठकले रौतहटमा भएको घटनाको सन्दर्भमा सबै पक्षलाई आपसी सद्भाव कायम गर्न आह्वान गरेको छ। साथै रौतहटको समग्र सुरक्षा व्यवस्था सुदृढ बनाउन सम्बन्धित सबै सुरक्षा संयन्त्रलाई आवश्यक निर्देशन दिइएकोसमेत काफ्लेले जानकारी दिए।
देशभर सुरक्षा संवेदनशीलताका आधारमा जनशक्ति परिचालन गर्ने गरी सुरक्षा निकायहरुबीच सहमति भएको समेत प्रवक्ता काफ्लेले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्