राष्ट्रिय एकता दलको औपचारिक घोषणा सभा पुस २५ गते काठमाडौँमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ पुष २०८२, बुधबार
2 Min Read
Aa

काठमाडौँ – नेपालको राष्ट्रिय पहिचान, सामाजिक सद्भाव र दीर्घकालीन स्थायित्वलाई केन्द्रमा राख्दै स्थापना हुन गइरहेको राष्ट्रिय एकता दल ले आफ्नो औपचारिक घोषणा सभा आगामी २०८२ साल पुस २५ गते शुक्रबार काठमाडौँमा आयोजना गर्ने भएको छ।

दलले जारी गरेको जानकारीअनुसार राजनीति केवल सत्ताको अभ्यास मात्र नभई राष्ट्रको इतिहास, संस्कृति र भविष्यप्रतिको गम्भीर उत्तरदायित्व हो भन्ने मान्यताका साथ राष्ट्रिय एकता दलको स्थापना गरिएको हो। संघीय हिन्दु गणतन्त्रको अवधारणा, नेपाली मौलिक धर्म–संस्कृति तथा सभ्यताको संरक्षण, र राष्ट्रिय एकताको सुदृढीकरणलाई दलको मूल ध्येयका रूपमा अघि सारिएको छ।

- Advertisement -
Ad imageAd image

दलका अनुसार यी मूल्यहरू कुनै एक समुदाय वा वर्गको पक्षमा नभई नेपालको ऐतिहासिक निरन्तरता, सामाजिक सन्तुलन र राष्ट्रिय आत्माको संरक्षणसँग प्रत्यक्ष रूपमा जोडिएका विषय हुन्। वर्तमान राजनीतिक, सामाजिक र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै वैकल्पिक राष्ट्रवादी राजनीतिक धार प्रस्तुत गर्ने उद्देश्यसहित दलले औपचारिक घोषणा सभा गर्न लागेको जनाइएको छ।

लोकतान्त्रिक व्यवस्थामा वैचारिक भिन्नता स्वाभाविक भए पनि राष्ट्रिय हितका साझा प्रश्नहरूमा राजनीतिक दलहरूबीच आपसी सम्मान, संवाद र सहकार्य अपरिहार्य रहेको दलको धारणा छ। यही सन्देश प्रवाह गर्न विभिन्न राजनीतिक दलका नेतृत्व, बुद्धिजीवी, नागरिक समाजका प्रतिनिधि तथा सरोकारवालाहरूलाई कार्यक्रममा आमन्त्रण गरिएको छ।

राष्ट्रिय एकता दलले उक्त ऐतिहासिक अवसरमा गरिमामय उपस्थिति वा शुभकामनाले राजनीतिक शिष्टाचार, लोकतान्त्रिक परिपक्वता र राष्ट्रिय एकताको सन्देश मजबुत हुने विश्वास व्यक्त गरेको छ। उपस्थित हुन असमर्थ व्यक्तिहरूबाट प्राप्त शुभकामनालाई पनि दलले उत्तिकै प्रेरणादायी र महत्वपूर्ण हुने जनाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्