प्रधानमन्त्री कार्कीलाई दुर्गाको मूर्ति उपहार दिँदै प्रसाईंले भनेः यो सरकारको पक्षमा सगरमाथाजस्तै अटल भएर उभिन्छौं

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ मंसिर २०८२, सोमबार
2 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानको टोलीसँग भेटघाट तथा छलफल गरेकी छन् । दुर्गा प्रसाईँको नेतृत्वमा आएको उक्त टोलीसँगको छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना, मुख्य सचिव सुमनराज अर्याल पनि सहभागी थिए । अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवण न्यौपानेले भेटघाटको सहजीकरण गरेका थिए ।

अभियानका नेता प्रसाईँले प्रधानमन्त्री कार्कीलाई उपहारस्वरुप भगवती दुर्गाको मूर्ति प्रदान गर्दै भने, ‘मैले बाहिर भनेका कुरामा सरी भन्छु, माफी माग्छु। तपाईँ माता हो, दुर्गा हो। दुर्गाको रुप धारण गरेर काम गर्नुहोस्। तपाईँको साथमा हामी छौँ। यो सरकारको पक्षमा हामी हुन्छौँ। सगरमाथाजस्तै अटल भएर यो सरकारको पक्षमा उभिन्छौँ।’

- Advertisement -
Ad image

प्रसाईँले आफ्ना मागबारे प्रस्ट्याउँदै आफ्ना कुरा सुन्न तयार भएकामा सरकारलाई धन्यवाद पनि दिए । शान्तिपूर्ण वार्ताका माध्यमबाट सडकको आवाज सुन्ने वातावरण बनाइदिएको भन्दै उनले गृहमन्त्री ओमप्रकाश अर्यालको पनि प्रशंसा गरे ।

‘यसअघिका सरकारहरु हाम्रा माग सुन्नै चाहेनन्। यही कारण दुर्घटना भयो। कमसेकम यो सरकार सुन्न तयार भयो। प्रधानमन्त्रीको टेबुलमै आएर हाम्रा माग राख्न पायौँ। यसका लागि गृहमन्त्रीज्यू र प्रधानमन्त्रीज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छु,’– उनले भने ।

प्रसाईँले आफ्ना माग पूरा भए देशभरि खुसियाली छाउने र कोही पनि सडकमा आउनु नपर्ने दाबी गरे । प्रधानमन्त्री कार्कीले आफूहरु पनि बेथिति र भ्रष्टाचार नियन्त्रणकै लागि आएको बताउँदै सरकार त्यसका लागि प्रयासरत रहेको बताए ।

प्रसाईँले उठाएका कतिपय माग जेनजी आन्दोलनका क्रममा उठेकै माग भएकाले तिनको सम्बोधन गर्नु आफ्नो दायित्व रहेको प्रधानमन्त्री कार्कीको भनाइ थियो । तर, ऋण मिनाहा गर्ने विषय भने राज्यले कसरी थेग्न सक्छ भनेर हेर्नुपर्ने उनले बताईन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्