काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा निर्वाचनको वातावरण बनाउनका निम्ति विभिन्न पक्षहरूसँग संवाद गर्ने क्रममा गृहमन्त्री अर्यालले मंगलबार डा यादवसँग भेटवार्ता गरेका हुन् ।
गृहमन्त्री अर्यालले नेपालका प्रथम राष्ट्रपति डा. यादवको ललितपुरको बागडोलस्थित निवासमै पुगेर उनको स्वास्थ्य अवस्था र भदौ २३ र २४ गतेको घटनाले पारेको असरका सम्बन्धमा जानकारी लिएका थिए । केहीबेरको भलाकुसारीपछि केही राजनीतिक विषयमा कुराकानी भएको थियो ।
त्यस क्रममा गृहमन्त्री अर्यालले जेनजी आन्दोलनले दिएको कार्यादेशअनुसार सरकारी सेवामा प्रभावकारिता र पारदर्शिता बढाउनेदेखि निर्वाचनको तयारीका लागि सरकारका तर्फबाट भइरहेका प्रयासबारे जानकारी गराएका थिए । सरकारले निर्वाचनलाई अर्जुनदृष्टि मानेर काम गरेकाे भन्दै उनले अभिभावकीय भूमिकामा रहेका पूर्वराष्ट्रपति यादवलाई समाजका सबै पक्षलाई निर्वाचनतर्फ उन्मुख हुने गरी प्रेरित गरिदिन आग्रह पनि गरे ।
डा. यादवले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारका तर्फबाट निर्वाचनका लागि वातावरण बनाउन भइरहेका प्रयासको सह्राहना गरे । पूर्वप्रधानन्यायाधीशको नेतृत्व र समाजका स्वतन्त्र व्यक्तिहरू सामेल भएको कारण यस सरकारले निष्पक्ष चुनाव गराउन सक्ने विश्वास पनि व्यक्त गरे ।
उनले विगतमा खिलराज रेग्मी नेतृत्वको सरकारले सफलतापूर्वक चुनाव गराएको सन्दर्श स्मरण गर्दै उक्त समयमा आफू राष्ट्रपतिको भूमिकामा रहँदा देखे भोगेका अनुभव सुनाए ।


प्रतिक्रिया दिनुहोस्