केपी र रमेश विरुद्धको जाहेरी आयोगमा पुग्दा बालेन र सुदन विरुद्धको जाहेरी प्रहरीमा !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ आश्विन २०८२, मंगलवार
3 Min Read
Aa

काठमाडौं – जेनजी आन्दोलनका क्रममा भएको सरकारी दमन तथा सार्वजनिक सम्पत्तिमाथि तोडफोड र आगजनीका घटनामा छानबिन गर्न प्रहरीमा छुट्टाछुट्ट जाहेरी पुगेका छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध घाइते परिवारहरूले दिएको जाहेरीलाई प्रहरीले बुझेर गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाएको छ । यी दुवै व्यक्तिको प्रत्यक्ष संलग्नता देखिने कुनै प्रमाण जाहेरीमा संलग्न नभएको भन्दै प्रहरीले थप प्रमाण खोज्न र विस्तृत अनुसन्धान गर्न आयोगको कार्यक्षेत्रमा पर्ने भएकाले आयोगमा पठाएको छ ।

- Advertisement -
Ad imageAd image

काठमाडौं प्रहरी परिररका प्रवक्ता एसपी पवन भट्टराईले जाहेरीको कार्यक्षेत्र जाँचबुझ आयोग हुने भएकाले पठाइएको जानकारी दिए । जेनजीको प्रदर्शनमा अस्वाभाविक बल प्रयोग गरेर दमन गरेको र १९ जनाको ज्यान जाने गरी बल प्रयोगको घटनालाई हत्याको संज्ञा दिँदै केपी र रमेशलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने माग गरिएको थियो । प्रहरीले भने आरोपितको संलग्नता खुल्ने अकाट्य प्रमाण नभएकाले आयोगको कार्यक्षेत्रमा जाहेरी पठाएको छ ।

अर्काेतिर आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा काठमाडौंका मेयर बालेन शाह र हामी नेपाली संस्थाका अध्यक्ष सुदन गुरुङको संलग्नता रहेको भन्दै प्रहरीमा अर्काे जाहेरी परेको छ । नेकपा एमालेनिकट अनेरास्ववियुका युवाहरूले प्रहरीमा दिएको जाहेरीबारे सरकारी वकिलसँगको सल्लाहपछि निर्णय लिइने जनाइएको छ ।

अनेरास्ववियुका महासचिव दीपक धामीको नेतृत्वमा पुगेको टोलीले राष्ट्रिय धरोहरमा आगजनी गर्ने र दण्डहीनतालाई प्रश्रय दिने काम भइरहेको बताउँदै तत्काल कानूनी दायरामा ल्याउनुपर्ने जनाएको छ । ‘अराजकता मच्चाउने काम भएको छ । धरोहर जलाउने काम भएको छ । हाम्रो देशको शान्तिको प्रतीकलाई विध्वंश गर्ने काम भएको छ । उनीहरूलाई कानूनी कारबाही गर्नुपर्छ भन्ने हाम्रो माग रहेको छ,’ उनले भने, ‘देश खरानी बनाइएको छ । ‘सुरुका दिनदेखि संविधानमाथि जसरी धाबा बोल्न खोजियो । हाम्रो पुस्ताको साथीहरूमाथि गोली लागेको छ । त्यसको पनि कानूनी उपचार खोजिनुपर्छ । दोषीलाई कारबाही गरिनुपर्छ । तर सम्पदामाथि आगजनी गर्ने, दिनदहाडै ज्यान लिने । सिंहदरबार छिरेर अनधिकृत व्यक्तिले हुकुमी शासन चलाउन पाइँदैन । कारबाहीको दायरामा ल्याउनैपर्छ ।’

अनेरास्ववियुका पूर्वअध्यक्ष समीक बडालले प्रहरीले २४ घण्टाभित्र जाहेरी दर्ता नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने र कानूनी उपचारको खोजीमा लाग्ने जानकारी दिए । जेनजी आन्दोलनसँग सम्बन्धित पक्षविपक्षमा छुट्टाछुट्टै जाहेरी आउन थालेपछि प्रहरी अन्योलमा परेको छ । जाहेरी सँगसँगै दुवै पक्षले दबाब पनि बढाइरहेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्