ट्रम्पसँगकाे वार्ता पुटिनले जितेकाे दावी: भएन युद्धविराम !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३२ श्रावण २०८२, शनिबार
2 Min Read
Aa

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच अलास्कामा सम्पन्न वार्ता युद्धविराम घोषणाबिना नै टुंगिएको छ। संयुक्त पत्रकार सम्मेलनपछि ट्रम्प एयर फोर्स वनमार्फत वासिङ्टन डिसी फर्किएका छन् भने पुटिन पनि मस्को तर्फ लागेका छन् ।

वार्तापछि पुटिनले युक्रेन युद्धलाई ‘दुःखद घटना’ भन्दै यसलाई अन्त्य गर्न आफू ‘गहिरो चासो राख्ने’ बताइए पनि, उनले युद्धका ‘मूल कारणहरू’ समाप्त गर्न आवश्यक रहेको दोहोर्‍याए। उनले युक्रेन र युरोपलाई वार्तामा ‘बाधा नपुर्याउन’ चेतावनी दिए।

- Advertisement -
Ad imageAd image

पुटिनले यस भेटलाई ‘समाधानको सुरुवाती बिन्दु’ भन्दै, ट्रम्पसँगको सम्बन्धलाई ‘व्यावसायिक’ बताएका छन्। उनले ट्रम्पको ‘यदि २०२० को चुनावपछि उनी राष्ट्रपति रहन्थे भने युद्ध सुरु नै हुने थिएन’ भन्ने दाबीसँग सहमति जनाएका छन्।

ट्रम्पले भने वार्तामा ‘धेरै बुँदामा सहमति’ भए पनि ‘केही महत्त्वपूर्ण बुँदा’ अझै बाँकी रहेको बताएका छन्। उनले ‘सबैभन्दा महत्त्वपूर्ण’ एउटा विषयमा सहमति हुन नसकेको जनाए, पनि त्यसलाई खुलाएनन्।

ट्रम्पले वासिङ्टनबाट अलास्का जाने क्रममा पत्रकारहरूलाई युद्धविराम घोषणा गर्ने चाहना प्रस्ट पारेका थिए। तर, घोषणा नगरी मञ्च छोड्दा उनी सन्तुष्ट देखिएनन्।

ट्रम्प र पुटिन करिब १० मिनेटसम्म मञ्चमा सँगै उभिएर सम्बोधन गरेका थिए। दुवैले वार्तामा प्रगति भएको जनाए पनि ठोस सम्झौतामा पुग्न सकेनन्। ट्रम्पले चाँडै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलिन्स्की र युरोपेली नेताहरूसँग सम्पर्क गर्ने बताएका छन्।

वार्ताको अन्त्यमा ट्रम्पले पुटिनसँग ‘सायद छिट्टै फेरि भेट हुने’ बताए भने, पुटिनले जवाफमा भने, ‘अर्को भेट मस्कोमा’ हुने बताए। यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले वार्तामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको जित भएको टिप्पणी गरेका छन्।

युक्रेन युद्धबारे ट्रम्प र पुटिनबीच अमेरिकाको अलास्कामा नेपाली समयअनुसार शुक्रबार मध्यराति भएको वार्तापछि बोल्टनले उक्त प्रतिक्रिया दिएका हुन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले भने, ‘पुटिनले जिते, ट्रम्पले यस बैठकबाट धेरै फाइदा उठाउन सकेनन्।’

बोल्टनले पुटिनले आफ्नो उद्देश्यअनुरूप सम्बन्ध पुनर्स्थापित गर्न धेरै प्रगति गरेको बताए। उनले भने, ‘पुटिनले आफ्नो देशलाई प्रतिबन्धबाट बचाए र युद्धविरामको सामना गर्नु परेन।’ उनका अनुसार अर्को बैठक निर्धारण भएको छैन।

उनले थपे, ‘युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई यसबारे पहिले नै केही भनिएको थिएन। समग्रमा पुटिनले आफूले चाहेको सबै कुरा हासिल गरे।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्