विद्या भण्डारीको सदस्यता नवीकरण भएको छैन, निर्णय पार्टीले गर्छ: प्रधानमन्त्री ओली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ श्रावण २०८२, शुक्रबार
2 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणबारे निर्णय पार्टीले औपचारिक छलफलपछि गर्ने बताएका छन्।

शुक्रबार बसेको पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भण्डारीलाई सक्रिय राजनीतिमा नफर्किने भन्ने विश्वासका आधारमा दोस्रो कार्यकालका लागि राष्ट्रपति बनाइएको उल्लेख गरे।

- Advertisement -
Ad imageAd image

“उहाँलाई दोस्रो पटक पार्टीले राष्ट्रपतिको जिम्मेवारी दिएको थियो। संवैधानिक व्यवस्थाअनुसार त्यसपछिको भूमिकामा फर्किनुहुन्न भन्ने अपेक्षा थियो,” बैठकमा सहभागी एक सदस्यलाई उद्धृत गर्दै ओलीले भने, “उहाँप्रतिको विश्वासका आधारमा सक्रिय राजनीतिमा आउनु उचित हुँदैन भन्ने धारणा बनाइएको हो।”

अध्यक्ष ओलीले भण्डारीको पार्टी सदस्यता हालसम्म नवीकरण नभएको प्रस्ट्याउँदै उक्त विषयमा पार्टी कमिटीले विधिसम्मत छलफल गरी निर्णय गर्ने बताए। “यो मेरो व्यक्तिगत धारणा हो,” उनले भने, “निर्णय पार्टीले गर्छ।”

ओलीले पार्टीभित्र बढ्दो अराजकताबारे पनि कडा चेतावनी दिए। “पार्टीलाई ठूलो र संगठित हमला भइरहेको छ। यस्तो बेलामा पार्टीभित्रैबाट बबण्डर उठाउने कोसिस हुनु गलत हो। यो तत्काल रोकिनुपर्छ, नरोकिए पार्टीले कारबाही गर्छ,” उनले स्पष्ट पारे।

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कने चर्चा भइरहेको सन्दर्भमा ओलीले आफूले त्यसबारे पत्रिकाबाट थाहा पाएको बताएका छन्। उनले सक्रिय राजनीतिमा आउने चाहना र पार्टी अध्यक्ष बन्ने आकांक्षा दुई फरक कुरा हुन् भन्ने टिप्पणी पनि गरेका छन्।

यस्तै, पार्टी विधान र प्रक्रियाबारे मनपरी व्याख्या गर्दै बाहिर बोल्ने प्रवृत्ति गलत भएको उल्लेख गर्दै अध्यक्ष ओलीले भनाइ राखे, “पार्टीभित्र छलफल हुने कुरा बाहिर गएर बोल्ने अभ्यास अनुशासनविपरीत हो।”

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्