विद्या भण्डारीको घोषणाले पार्टीमा ध्रुवीकरण बढाएको ओलीको दाबी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ श्रावण २०८२, बिहीबार
2 Min Read
Aa

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा आउने पूर्वराष्ट्रपति विद्या भण्डारीको घोषणाले पार्टीमा ध्रविकरण बढाएको बताएका छन्।

पूर्वराष्ट्रपति भण्डारीले गत १४ असार पार्टी राजनीतिमा सक्रिय हुने घोषणा गरेकी थिइन् । एमालेको एउटा पंक्तिले भण्डारीलाई भावी अध्यक्षका रूपमा हेरिरहेको छ ।

- Advertisement -
Ad imageAd image

ललितपुरको च्यासलमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले पार्टीभित्रको ध्रुविकरण रोक्न संस्थागत निर्णय गरेर एकताबद्धरुपले जानु पर्ने बताएका थिए ।

एक पदाधिकारीका अनुसार ओलीले भनेका थिए, ‘उहाँको प्रवेशले पार्टीभित्र ध्रुविकरण बढायो । ्उहाँले पार्टीमा आउने औपचारिक घोषणा मात्र होइन, अध्यक्ष मै आउने घोषणा गरिसक्नु भएको छ। पार्टीभित्र ध्रुविकरण रोक्न एकताबद्धरुपले जानुपर्छ।अब संस्थागत निर्णयको बेला आयो।’

पूर्वमहासचिव मदन भण्डारीको जन्मजयन्तीका अवसरमा १४ असारमा आयोजित कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले खुलेरै पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउनुपर्नेमा जोड दिएका थिए ।

पूर्वराष्ट्रपति भण्डारी पार्टी राजनीतिमा फर्किएसँगै एमालेमा तीव्र रूपमा ध्रुवीकरण भइरहेको छ । पार्टी संगठनको केन्द्रदेखि जिल्लास्तरसम्मै दुई धार देखिन थालेका छन् ।

पार्टी सचिव योगेश भट्टराईका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले नै यो विषयमा आवश्यक छलफल हुने बताएको जानकारी दिए ।

यसबारेमा अध्यक्ष कमरेड आफैंले आजको बैठकमा भ्याइएन भने आवश्यक परेमा छलफल हुनेछ भन्नु भएको छ’, उनले भने, ‘अहिले नै उहाँलाई यो वा त्यो जिम्मेवारी दिने नदिने भन्नु धेरै हतार हुन्छ । यसबारे कुरा भएको छैन । पार्टी अध्यक्षले पूर्वराष्ट्रपतिबारे छलफल गरौँ भन्नु भएको छ। अब यो एमालेको विषय भइसकेको छ ।’

एमाले राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति भण्डारीलाई आवश्यक जिम्मेवारी दिनेबारे पनि छलफल भएको उनले बताए । ‘फर्किन्छु भनेर आफ्नो सेवा सुविधा त्यागेर आइसकेपछि यो पार्टीको मामला भयो । उहाँ आउनुहुन्छ भने उचित स्थान पनि दिनुपर्ला’ भट्टराईले पत्रकारहरुसँग भने ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्