भिजिट भिसामा जान चाहनेहरुलाई पैसा लिएर पठाइएको कुरालाई मानव तस्करी भन्न मिल्दैनः कांग्रेस नेता घिमिरे

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ असार २०८२, बिहीबार
2 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) फसेको टिप्पणी गरेका छन् । आज (बिहीबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले गृहमन्त्रीको राजीनामा माग्दै बेल घेराउमा पुगेको रास्वपालाई फर्किन गाह्रो भइरहेको बताएका हुन् । उनले रास्वपा पनि एक राजनीतिक शक्ति रहेको बताउँदै वार्ताको माध्यमबाट समस्याको समाधान खोजिने बताए । भिजिट भिसा प्रकरण छानविनका लागि समिति गठन हुनुपर्ने र गृहमन्त्रीले राजीनामा दिएर छानविनका लागि मार्ग प्रशस्त गर्नुपर्ने मागसहित रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को माग रहेको छ । रास्वपाले सदनमा अवरुद्ध गरिराखेको छ भने राप्रपाले बैठक नै बहिस्कार गर्दै आएको छ ।

‘गृहमन्त्रालयका कर्मचारी पनि मुछिएका होलान् । अहिले अख्तियारले अनु्सन्धान सुरु गरेको छ । अहिलेसम्म कसैमाथि अभियोजन भएको छैन । मुद्दा अभियोजन जुन बेला होला, त्यही बेला हामी सबैलाई थाहा होला कि को–को यसमा संलग्न छन् भन्ने कुरा मुद्दा अख्तियारले अभियोजन गरेपछि थाहा हुन्छ । अहिले त के भएको हो भनेर अनुसन्धानकै प्रक्रियामा छ । कर्मचारी पनि दोषी भन्न मिल्दैन । अहिले नै मानव बेचविखन भयो, गृहमन्त्रीले मान्छे बेच्यो भनेर बेतु्कको कुरा गर्ने बेअर्थ छ । यो कुरामा उहाँहरु फस्नुभयो । उहाँहरुले अनावश्यक माग राखेर एउटा हदसम्म पुग्नुभयो । बेल घेराउमा पुग्नुभयो, पुगेपछि उहाँहरुलाई पनि फिर्ता हुन गाह्रो भएको होला । राजनीतिक शक्ति हो, त्योसँग पनि वार्ता गरेर सहमतिमा पुर्याउँछौं,’– उनले भने ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्