काठमाडौं – पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा छ जना मजदुर घाइते भएकोमा तीन जनाको अवस्था गम्भीर छ । घाइते हुनेहरूमा बारा, सिमरा-१२ बस्ने २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी, २२ वर्षीय राकेश चौधरी, २५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिषेक चौधरी रहेका छन्।
आज अपराह्न मेची राजमार्गअन्तर्गत हेवाखोलामा निर्माण भइरहेको उक्त बेलिब्रिज भाँचिएको हो । गत वर्षको बाढीले हेवाखोलाको पुरानो पुल बगाएपछि यातायातका लागि ड्राइभर्सन बनाइएको थियो । बर्खायाममा यातायात सहज बनाउन बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको थियो, तर जोड्ने क्रममा पुल भाँचिएको पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए ।
उनका अनुसार पुल भाँचिनुको कारण अझै स्पष्ट भएको छैन । घाइते मजदुरहरूलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस्