काठमाडौं – अन्तर्राष्ट्रिय सौन्दर्य शिक्षाको क्षेत्रमा बिख्यात भक्ति साप्केले ब्युटी एकेडेमीको अन्तर्राष्ट्रिय ब्रान्ड इन्टरनेसनल स्कुल अफ एस्थेटिक्स एन्ड स्पा (आईएसएएस) को शाखा काठमाडौंको नयाँबानेश्वरमा सुरु गर्ने भएकी छन् । करिब दुई दशकभन्दा लामो अनुभव भएकी साप्के ‘सिडेस्को सेक्सन यूएइ’की अध्यक्ष हुन् ।
उनको नेतृत्वमा आईएसएएसले भारत, दुबईपछि नेपाल र श्रीलङ्का प्रवेशसँगै ११ आउटलेट बिस्तार गरेको छ । अमेरिकामा शाखा खोल्ने तयारी अघि बढाएको छ । नेपालको उदीयमान सम्भावना, सिर्जनात्मक प्रतिभा र दक्ष जनशक्तिको बढ्दो मागप्रतिको विश्वासका कारण नेपाल आफ्नो रोजाइमा परेको साप्केले बताइन् ।
आईएसएएस नेपाल शाखामा कोस्मेटोलोजी, मेकअप, नेल टेक्नोलोजी, स्पा थेरापी, सलुन तथा स्पा व्यवस्थापन, आइल्यास एक्सटेन्सन लगायत ४५ भन्दा बढी अन्तर्राष्ट्रिय पाठ्यक्रम रहनेछन् । यी कोर्स पूरा गरेपछि विद्यार्थीले सिडेस्को (स्विट्जरल्यान्ड), पिभोट प्वाइन्ट (अमेरिका), एलएपीटी (लन्डन), केएचडीए र डीएचए (दुबई) तथा टीभीईटी (यूएई) जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय निकायको परीक्षा दिएर प्रमाणपत्र प्राप्त गर्न सक्नेछन् ।
छोटा तथा लामा पाठ्यक्रमका दुबै विकल्प भएकाले विद्यालय, कलेज उत्तीर्णदेखि विदेश जान चाहने, करियर परिवर्तन गर्ने चाहने, नयाँ उद्यम थाल्ने वा सीप अभिवृद्धि गर्न चाहने सबैका लागि यो केन्द्र उपयुक्त हुनेछ ।


प्रतिक्रिया दिनुहोस्