आज चैते दशैँ: शक्तिपीठमा भक्तजनको भीड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ चैत्र २०८१, शनिबार
2 Min Read
Aa

काठमाडौं – हरेक वर्ष चैत्र शुक्ल अष्टमीमा पर्ने चैते दसैँ शनिबार नेपालीले घरघरमा नव दुर्गा भगवतीको पूजा र आराधना गरेर मनाउँदै छन्। वर्षमा चार नवरात्र हुन्छन्। आषाढ र पौष शुक्ल पक्षका नवरात्र खासै प्रचलित छैनन्। तर, केही साधकले यी नवरात्रमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्छन्।

आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदादेखि घटस्थापना गरेर जमरा राखिन्छ। त्यसैले यो दसैँलाई बडादसैँ भनिन्छ। बडादसैँमा दशमीका दिन मान्यजनबाट टीका र जमरा लगाइन्छ, जुन आश्विन शुक्ल पूर्णिमासम्म चल्छ।

- Advertisement -
Ad imageAd image

चैते दसैँमा भने यो परम्परा धेरै परिवारमा छैन। तर, हनुमानढोकाको दसैँघरमा घटस्थापना गरेर विधिवत् पूजा र अष्टमीमा बलि दिने चलन छ। चैते दसैँमा अष्टमी र नवमीलाई विशेष मानिन्छ। अष्टमी चैते दसैँका रूपमा र नवमी त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीका जेठा छोरा श्रीरामको जन्म भएको दिन भएकाले रामनवमीका रूपमा मनाइन्छ।

बडादसैँजस्तै चैते दसैँको पूजाको उद्देश्य पनि यो लोकमा सुख–शान्ति र परलोकमा सद्गति पाउन आशीर्वाद लिनु हो। चैते दसैँमा पनि परिवारका सदस्यबीच जमघट हुन्छ।

उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवी जस्ता पीठमा चैते दसैँमा विशेष पूजा हुन्छ।

यस्तै, उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवी लगायत शक्तिपीठमा पनि चैत्र नवरात्रमा विशेष पूजा गरिन्छ। चैत्र नवरात्र भनिने यो पर्वमा शक्तिपीठमा गएर पूजा र दर्शन गरे शक्ति प्राप्त हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्