१९ चैतदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राति १२ बजेसम्म खुला रहने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ फाल्गुन २०८१, शुक्रबार
2 Min Read
Aa

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १९ चैतदेखि रातको समयमा संचालन हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थल पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन वटा आयोजनामध्ये धावनमार्गको ७५ मिटर नजिकको काम पूरा हुन लागेको छ । यो काम सम्पन्न भएपछि विमानस्थल राति १२ बजेसम्म खुला रहने छ । त्यसपछि विमानस्थल दैनिक १८ घण्टा सञ्चालन हुने छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार विमानस्थल नै बन्द गरेर धावनमार्गसँगै जोडिएको मुख्य जटिल काम सकिएपछि चैत १९ गतेदेखि विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुनेछ ।

- Advertisement -
Ad imageAd image

धावनमार्गको क्षमता अभिवृद्धिका लागि काम सुरु गर्नुअघि विमानस्थल बिहान ६ बजेदेखि राति ३ बजेसम्म सञ्चालन हुँदै आएको थियो ।

यसअघि राति १२ बजेदेखि ३ बजेसम्म उडान गर्दै आएका कतार एयरवेज, फ्लाई दुबई र नेपाल वायुसेवा निगमका उडान राति १२ बजेपहिले नै गराएर विमानस्थल दैनिक १८ घण्टा सञ्चालन गर्ने तयारी रहेको सूचना अधिकारी भुलले बताए ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार विमानस्थलको धावनमार्गको बिच भागदेखि ७५ मिटरभित्रको काम गर्न उडान बन्द गर्नुपर्ने नियम अनुसार हाल विमानस्थल बिहान ७ बजे खुलेर राति ११ बजे बन्द हुँदै आएको छ ।

विमानस्थल विस्तारका लागि जारी आयोजनाको सबै काम सन् २०२६ को फेब्रुअरीभित्रै सम्पन्न हुने भए पनि धावनमार्ग नै बन्द गरेर गर्नुपर्ने काम चैत दोस्रो साताअघि नै सम्पन्न हुने भएपछि विमानस्थलको सञ्चालन समय बढ्न लागेको हो ।

२३ कात्तिकदेखि माघ १८ गतेसम्म दैनिक १० घण्टा बन्द भएको विमानस्थल माघ १९ देखि थप दुई घण्टा सञ्चालनमा ल्याएर हाल दैनिक आठ घण्टा बन्द हुँदै आएको छ ।

तोकिएको समयमै विमानस्थल सञ्चालनमा आउने भएपछि प्राधिकरणले नोटाम (उडानसम्बन्धी सूचना) जारी गरेर गर्मीयाममा हुने उडान तालिका अनुसार वायुसेवाको उडान तालिका रिसेड्युल गर्न प्राधिकरणले सूचना जारी गरिसकेको छ ।

प्राधिकरणका अनुसार राति १२ बजेसम्म विमानस्थल सञ्चालनमा आउने भएपछि भारतीय वायुसेवा कम्पनी स्पाइस जेट र एयर इयर इन्डिया एक्सप्रेसले पुनः उडान गर्ने भएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्