काठमाडौं – आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा भारत न्युजिल्यान्डलाई हराएर समूह विजेता बनेको छ । आईतबार राति सकिएको समूह चरणको अन्तिम खेलमा न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत समूह ‘ए’को विजेता बनेको हो ।
यससँगै भारतले समूह चरणका तीनवटै खेल जितेको छ । भारतले अब सेमिफाइनलमा समूह ‘बी’को उपविजेता अष्ट्रेलिया प्रतिद्वन्द्वी पाएको छ । यस्तै समूह ‘ए’को उपविजेता न्युजिल्यान्डले ‘बी’को विजेता दक्षिण अफ्रिकाको सामना गर्नेछ ।
न्युजिल्यान्डविरुद्ध भारतको जितमा वरुण चक्रवर्ती चम्किए । उनले महत्वपूर्ण ५ विकेट लिए । चक्रवर्ती खेलको ‘प्लेयर अफ दी म्याच’समेत बने । खेलको ४५औं ओभरको दोस्रो बलमा २८ रनमा ब्याटिङ गरिरहेका मिचेल स्यान्टनरलाई चक्रवर्तीले आउट गरे, जसले गर्दा न्युजिल्यान्डको जितको अन्तिम आशा समाप्त भयो ।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २४९ रन बनाएको थियो । भारतका लागि श्रेयर ऐय्यरले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ७९ रन बनाए भने हार्दिक पाण्ड्याले ४५ रन जोडे । न्युजिल्यान्डका म्याट हेनरीले सर्वाधिक ५ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको न्युजिल्यान्ड ४५.३ ओभरमा २०५ रनमा अलआउट भयो । उसका लागि केन विलियम्सनले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ८१ रन बनाए ।
भारतको जितमा चक्रवर्तीबाहेक कुलदीप यादवले पनि २ विकेट हात पारे । यस्तै हार्दिक पाण्ड्या, अक्षर पटेल र रवीन्द्र जडेजाले पनि १–१ विकेट लिए । ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्न नसेको भारतको जितमा बलरहरू निर्णायक बनेका हुन् ।
अब भारत र अष्ट्रेलियाले फाइनल प्रवेशका लागि मङ्गलबार यूएईको दुबई अन्तराष्ट्रिय रङ्गशालामा भिडन्त गर्नेछन् । दक्षिण अफ्रिका र न्युजिल्यान्डबीचको खेल भने बुधबार पाकिस्तानको लाहोरस्थित गद्दाफी रङ्गशालामा हुनेछ । यी २ टोलीको विजेताले मार्च ९ मा उपाधि भिडन्त गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्