काठमाडौं – संघीय संसदबाट अध्यादेश पास गर्न सत्ता पक्षलाइ कठिन भइरहेका बेला निर्णायक भूमिकामा रहेकाे जसपा नेपालले दुइ विकल्प अघि सारेकाे छ । सत्तारूढ दलहरू नेपाली (कांग्रेस) र नेकपा (एमाले)को प्रतिष्ठाको विषय बन्दै गइरहेको अध्यादेश बिहीबारको संसद् बैठकमा निर्णयार्थ प्रस्तुत भएन।
अध्यादेश पास गर्न राष्ट्रिय सभामा निर्णायक दल जनता समाजवादी पार्टी, नेपालले ठोस जवाफ नदिएपछि सरकार पछि हट्यो र बिहीबारको संसद्मा निर्णयार्थ प्रस्तुत हुने अध्यादेश कार्यसूचीबाट हटायो ।
सत्तारूढ दलहरूका लागि प्रतिनिधि सभामा समस्या नभए पनि राष्ट्रिय सभामा भने अङ्कगणितीय समस्या छ । सरकारमा रहेका दलहरू कांग्रेस, एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग मात्रै राष्ट्रिय सभामा सिट छ ।
उनीहरूका पनि कांग्रेस १६, एमाले १० र लोसपा १ गरी जम्मा २७ सिट मात्रै पुग्छ । जबकि ५९ सदस्यीय राष्ट्रिय सभामा बहुमतका लागि कम्तीमा ३० सांसदको समर्थन चाहिन्छ । जसपा नेपालसँग ३ सिट छ । अध्यादेश पास हुनका लागि सत्तापक्षलाई जसपा नेपालको समर्थन अनिवार्य छ ।
यही भएर यसअघि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पालैपालो फोन गरेर अध्यादेश पास गरिदिन बिन्ती बिसाएका थिए । त्यसलगत्तै पार्टीका नेता राजकिशोर यादवको नेतृत्वमा अध्यादेश अध्ययन कार्यदल बनाएका उपेन्द्रले ‘बार्गेनिङ’ सुरु गरेका छन् ।
कार्यदलले बिहीबार प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदनको सारबारे सोध्दा जसपा नेपालका प्रवक्ता मनीष सुमनले बताउन नमिल्ने बताए । ‘जिम्मेवारीमा म पनि थिएँ, जिम्मेवारीमा भइसकेपछि उत्तरदायित्व पनि पालना गर्नुपर्छ । यसबारे अहिले बताउन मिल्दैन,’ उनले भने ।
तर, एमालेका एक नेताले बताएअनुसार भने अध्यादेशमा सघाउनका लागि उपेन्द्र यादवले दुईवटा विकल्प प्रस्तुत गरेका छन् । पहिलो- सङ्घमा उपप्रधानसहित गृह वा स्वास्थ्य मन्त्रालय पाउनुपर्ने र दोस्रो- उपप्रधानसहित गृह वा स्वास्थ्य नपाए मधेस प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने ।
बिहीबार बिहान उपेन्द्र यादवले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए । त्यस क्रममा पनि उपेन्द्रले त्यही कुरा राखेको ती नेताको भनाइ छ । ती नेताले भने, ‘अध्यादेश पास गर्ने तर, सङ्घमा भए उपप्रधानसहित गृह वा स्वास्थ्य मन्त्रालय र त्यो नभए मधेसको मुख्यमन्त्री भन्ने कुरा राख्नुभयो रे ! तर, यी विषय राजनीतिमा सामान्य कुरा हुन् ।’
जसपा नेपाल अहिले सङ्घ वा प्रदेश दुबैतिर सरकार बाहिर छ। करिब ७ महिनाअगाडि सङ्घीय सरकारबाट बाहिरिएका उपेन्द्रले यही मौका पारेर ‘बार्गेनिङ’ सुरु गरेका छन् । उनी पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा उपप्रधानसहित स्वास्थ्यमन्त्री थिए । तर, आफू अमेरिका हुँदा नेपालमा पार्टी विभाजन भएपछि उनी तत्कालै सरकारबाट बाहिरिए । तर, जसपा नेपालले असार ३० गते ओलीको नेतृत्वमा बनेको सरकारलाई विश्वासको मत भने दिएको छ ।
यही मौका पारेर उपेन्द्रले सरकारमा जाने सुनिश्चितता खोजेका छन् । एमालेले भने अहिलेलाई अध्यादेशमा सहयोग गर्न र अर्को आवधिक निर्वाचनपछि मधेस सरकारको नेतृत्व गर्न प्रस्ताव पठाएको छ । तर, उनले त्यहाँ समर्थन जनाएका छैनन् ।


प्रतिक्रिया दिनुहोस्