काठमाडाैं – साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनको मुद्दामा गोरखा मिडिया नेटवर्क प्रालिका ३ जना सञ्चालकविरूद्ध मात्रै संगठित अपराधको मुद्दा चलाइएको छ ।
सञ्चालकहरू जिबी राई, छविलाल जोशी र कुमार रम्तेललाई ठगीसहित संगठित अपराधको पनि मुद्दा लगाएर सरकारी वकिलको कार्यालयले चितवन जिल्ला अदालतमा अभियोजन गरेको छ । प्रबन्ध निर्देशक रवि लामिछानेलाई भने ठगीको मात्रै मुद्दा लगाइएको छ ।
साहारा सहकारीबाट गोरखा मिडियामा १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ गएको देखिएको छ । त्यो रकम चार जना सेयर सदस्यलाई दामासायी रूपमा बिगो तोकिएको छ । यसअनुसार सबैको भागमा २ करोड ७० लाख ४ हजार ५३७ रुपैयाँ बिगो हुन आउँछ ।
जिल्ला न्यायाधिवक्ता शान्तिराज लुइँटेलले रविले साहारा चितवन सहकारीमार्फत् गोरखा मिडियामा गएको रकमको चेक काटेको मात्रै भेटिएको बताए । ‘उनी साहारा सहकारीका सदस्य, सञ्चालक भएको, यहाँको रकम अन्य कम्पनीमा लैजाने कार्यमा संलग्न भएको देखिएन,’ लुइँटेलले भने, ‘अन्य तीन जना संलग्न देखिएकाले ठगी र संगठित अपराध दुबै मुद्दा चल्यो ।’
सरकारी वकिलको कार्यालयले मंगलबार साहारा चितवन सहकारीको रकम अपचलनमा ३२ जना र ६ वटा कम्पनीविरूद्ध जिल्ला अदालतमा मुद्दा पेस गरेको हो । ३२ मध्ये १२ जनालाई ठगी र संगठित अपराध दुबै मुद्दा चलाइएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए । अन्यको विरूद्ध ठगीको मात्रै मुद्दा छ ।
३२ जनामध्ये जिबी राईसहितका १७ जनाको विरूद्ध गत असोज ८ गते सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको थियो । सरकारी वकिल कार्यालयले थप अनुसन्धानका गर्न निर्देशन दिएपछि जिल्ला प्रहरी कार्यालयले लामिछानेसहित थप १५ जना र ६ वटा कम्पनीहरूसहित पूरक अनुसन्धानको प्रतिवेदन बुझाएको थियो ।
सहकारी संस्थामा ३८ करोड ९ लाख ७९ हजार १७७ रुपैयाँ बचत जम्मा गरेका ४५६ जनाले रकम फिर्ता पाउनुपर्ने माग राखेर जाहेरी दिएका थिए । सो रकम र बाँकी १३ करोड ४२ लाख ६ हजार १३१ रुपैयाँ बचत रकमपछि दाबी भएको अवस्थामा पनि प्रतिवादीबाट फिर्ता गराउनुपर्ने अभियोजन पत्रमा उल्लेख छ ।
अदालतका स्रेस्तेदार विष्णुप्रसाद आचार्यले प्रतिवादीहरूमध्ये कोही उपस्थित भएपछि अदालती प्रक्रिया सुरू हुने बताए। लामिछाने बिहीबार जिल्ला अदालतमा उपस्थित हुने तयारीमा छन् ।


प्रतिक्रिया दिनुहोस्