काठमाडौँ – अमेरिकाले उसका दुई छिमेकी क्यानडा र मेक्सिकोलाई २५ प्रतिशत र हाम्रो छिमेकी चीनलाई १० प्रतिशत आयात शुल्क लगाउने भनेपछि ‘ब्यापार युद्ध’को नयाँ श्रृङ्खला शुरु हुन लागेको ठानिएको छ ।
आगामी मंगलबारदेखि लागू हुने गरी भनेर अमेरिकाले घोषणा गरेको उक्त आयात करको प्रतिकार पनि भइरहेको छ । क्यानडामा कामचलाउ सरकारका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकामा उत्पादित १ खर्ब ५५ अर्ब डलर बराबरको सामग्री आयात गर्दा २५ प्रतिशत भन्सार महशुल लगाउने घोषणा गरेका छन् ।
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनाबाउमले पनि अमेरिकामाथि उस्तै प्रकारको शुल्क आफ्नो देशले लगाउने भनेकी छिन् । चीनले चाहीँ ब्यापार युद्धबाट कसैको हित नहुने भएकाले आफ्नो ‘राष्ट्रिय स्वार्थ रक्षा’ गर्न तत्पर रहेको भनेको छ ।
चीनले आफू पनि ‘मिल्दोजुल्दो जवाफी कदम चाल्ने’ र अमेरिकी निर्णय विरुद्ध विश्व ब्यापार संगठनमा मुद्दा हाल्ने बताएको छ । उसले अमेरिकी कदमबाट आफूहरु असाध्यै असन्तुष्ट रहेको र यसको सशक्त विरोध गर्ने भनेको छ ।
ट्रम्पको घोषणामा के छ ?
अमेरिकी राष्ट्रपति कार्यालयका अनुसार क्यानडा र मेक्सिकोबाट हुने आयातमा २५ प्रतिशत कर लगाउने भने पनि क्यानडाबाट हुने ऊर्जा आयातमा १० प्रतिशतमात्रै कर लगाउने व्यवस्था गरिएको छ । त्यस्तै चीनबाट हुने आयातमा पनि थप १० प्रतिशत कर लगाउने उल्लेख छ ।
उक्त कदमको प्रतिरक्षा गर्दै राष्ट्रपति ट्रम्पले ‘ग्रह्रकानूनी आप्रवासन र घातक लागूऔषधको खतराका कारण आफूले आपतकालिन आर्थिक शक्तिको प्रयोग गरेको’ तर्क सहित एक विज्ञप्ती सामाजिल सञ्जाल एक्समार्फत प्रकाशित गरेका छन् ।
बीबीसीले अर्थविदहरुको हवाला दिँदै उक्त कदमबाट अमेरिकामा खाद्यान्न, इन्धन र गाडीको मूल्य बृद्धि हुनसक्ने उल्लेख गरेको छ भने क्यानडा र मेक्सिकोलाई आर्थिक मन्दीतर्फ धकेल्नसक्ने बताएको छ ।
गत साल अमेरिकाले क्यानडा, मेक्सिको र चीनबाट कुल आयातको ४० प्रतिशत हाराहारी वस्तु किनेको थियो । अमेरिकाले आफ्नो वस्तु निर्यातको १७ प्रतिशत क्यानडालाई बेच्छ भने क्यानडाले आफ्नो कुल निर्यातको ७५ प्रतिशत अमेरिकालाई बेच्छ ।
नेपाललाई के असर पर्छ ?
गत आर्थिक वर्ष २०८०/८१ को तथ्यांक अनुसार अमेरिका नेपालको दोस्रो ठूलो निर्यात गन्तव्य हो । गत साल नेपालबाट भएको कुल निर्यातको ६८ प्रतिशत भारतमा र ११.३६ प्रतिशत अमेरिकामा भएको थियो ।
तै पनि अमेरिकासँगको ब्यापारमा नेपाललाई धेरथोर घाटा नै छ । पोहोरको आर्थिक वर्षमा हामीले अमेरिकाबाट १९ अर्ब ४८ करोडभन्दा बढीको आयात गरेका थियौँ भने १७ अर्ब ३१ करोडभन्दा बढीको निर्यात गरेका थियौँ ।
तर यो रकमलाई औसत १३३ रुपैयाँको विनिमय दर लगाएर डलरमा हिसाब गर्दा जम्मा १३ करोड डलरको निर्यात भएको देखिन्छ । तर करीब ४० खर्ब डलरको अमेरिकी आयातमा यो केलव नेपालबाट हुने निर्यातको हिस्सा केवल ०।००३ प्रतिशत बराबर हो । ‘ट्रेड–इकोनोमिक्स’ले सन् २०२३ मा अमेरिकी आयातमा नेपालको हिस्सा ०.००४७ प्रतिशत रहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्