काठमाडौँ – इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताअन्तर्गत बिहीवार तेस्रो चरणको बन्दी साटासाटका क्रममा हमासको नियन्त्रणमा रहेका ठानिएका नेपाली विद्यार्थी विपिन जोशी पनि छुट्न सक्ने सम्भावनाबारे विभिन्न अनुमान भइरहेको छ।
बुधबार टाइम्स अफ इजरायलले एक नेपाली हमासकाे कब्जामा रहेकाे समाचार प्रकाशन गरेकाे थियाे । ती एक नेपाली विपिन जाेशी नै भएकाे नेपाल पक्षकाे भनाइ छ । किनभने अर्का नेपाली हमासकाे कब्जामा रहेकाे अहिलेसम्म सूचना छैन ।
तर इजरायलस्थित नेपाली राजदूतले जोशीको पछिल्लो अवस्था तथा उनी कहिले छुट्लान् भन्नेबारे “नयाँ जानकारी प्राप्त हुन नसकेको” बताए ।इजरायली अधिकारीहरूले “विपिन जोशी जुनसुकै बेला छुट्न सक्ने भएकाले तयारी अवस्थामा रहनू” भनेको राजदूत धनप्रसाद पण्डितको भनाइ छ।
राजदूत पण्डितका अनुसार बुधवार राति उनले इजरेली अधिकारीहरूसँग जोशीको अवस्थाबारे बुझ्ने कोसिस गरेका थिए। त्यस क्रममा इजरायली अधिकारीहरूले बिहीवार तीन इजरायली र पाँच थाई नागरिक छुट्न सक्ने जानकारी दिएको उनले बताए।
“त्यसो भयो भने एक थाई र हाम्रा विपिन जोशी गरी दुई जना विदेशी नागरिक बन्धक बाँकी रहने अवस्था हुन्छ। आज विपिन जोशी छुटेनन् भने शनिवार हुने अर्को आदानप्रदानमा उनी छुट्छन् भन्ने आशा छ,” पण्डितले बिहीवार दिउँसो भने।
पण्डितले इजरायली अधिकारीहरूले हमासले छाड्ने बन्धकहरूको सूचीमा विदेशी नागरिकको नाम समावेश नहुने दोहोर्याएको जानकारी पनि दिए। तर आफूहरूलाई इजरायली अधिकारीहरूले “तयारी अवस्थामा रहन” भनेको पण्डितले बताए।
पहिलो युद्धविराम गरिएको २०२३ को नोभेम्बरमा २३ थाईलाई हमासद्वारा रिहा गरिएको थियो । बाँकी रहेको ८ जनामध्ये ५ जनालाई बिहीबार मुक्त हुने इजरायलले पुष्टि गरेको छ ।
दुई जना थाई नागरिकको मृत्यु भएको बताइएको छ । यो पाँच जना थाईहरू पहिलो चरणमा रिहाइ हुने ३३ जनाभित्रको होइन । यसअघि २३ जना पनि इजरायल र हमासबीचको वार्तामा टुङ्गाइएको सङ्ख्याभन्दा अलग्गै थियो ।
यसो हुनुको पछाडि इरान र थाइल्यान्डबीचको कूटनीतिक सम्बन्धले काम गरिरहेको थियो । इरानको आग्रहमा हमासले छाडिदिएको थियो । अहिले ५ जना रिहाइ हुने विषय पनि इरानको आग्रहमा भनिएको छ ।
नेपालको परराष्ट्र मन्त्रालय तथा विदेशस्थित नियोगका अधिकारीहरूले जनाएअनुसार जोशीलाई हमासको कब्जाबाट मुक्त गर्नका लागि कतार तथा इजिप्टका अधिकारीहरूसँग पुन: अनुरोध गरिएको छ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले गएका जोशीलाई मुक्त गर्नका लागि पहल गरिदिन साताहरूमा इजरेल, इजिप्ट तथा कतारका विदेशमन्त्रीहरूसँग टेलिफोनमा कुराकानी गरेकी थिइन्।
इजरेल र हमासबीच युद्धविराम सम्झौता गराउनमा कतार तथा इजिप्टले मध्यस्थकर्ताको भूमिका खेलेका थिए। कतारले नेपालको बारम्बार गरिरहेको यो अनुरोधलाई कतिको गम्भीरतापूर्वक लिएको छ ? प्रस्ट रूपमा खुल्दैन । कतारले साँच्चिकै चाहिहालेको भए विपिन तुरुन्तै रिहाइ हुने विषय टाढाको होइन । यसको लागि विपिन दोस्रो चरणसम्म पर्खनुपर्ने होइन।


प्रतिक्रिया दिनुहोस्