काठमाडौं – अमेरिकामा रहेका गैरआप्रवासीको सूची सार्वजनिक भएको छ । सार्वजनिक भएको सूची अनुसार, एकहजार ३६५ जना नेपाली छन् ।
डोनाल्ड ट्रम्प राष्ट्रपतिको कार्यभार सम्हालेसँगै अमेरिकाले आफ्नो देशमा रहेका अवैध आप्रवासीलाई निष्कासन गर्दै छ । अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इनफोर्समेन्टको तथ्यांक अनुसार, नेपालका एकहजार ३६५ जनालाई फिर्ता पठाइनेछ ।
अमेरिकाबाट फर्काइन लागेकाहरूमध्ये सबैभन्दा धेरै होन्डुरस, ग्वाटेमाला, मेक्सिको र एल साल्भाडोरका नागरिकहरू छन् ।
होन्डुरसका २ लाख ६१ हजार ६५१, ग्वाटेमालाका २ लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८२२ जना छन् । चीनका ३७ हजार ९०८ र भारतका १७ हजार ९४० जना पनि अमेरिकाबाट निष्कासनमा परेका हुन् ।
अमेरिकामा १ करोडबढी अवैध आप्रवासी रहेको अनुमान गरएको छ । गैरकानूनी रूपमा अमेरिकामा लुकेर बसेका, औपचारिक कागजातहरू नभएका आप्रवासीलाई अवैध आप्रवासी भनिएको छ ।
ट्रम्पको निष्कासन योजनामा अमेरिका छोड्न अदालतबाट अन्तिम आदेश पाइसकेका तर अझै अमेरिका नछोडेका व्यक्तिहरू मुख्य प्राथमिकतामा परेका छन् ।
इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्टद्वारा सार्वजनिक तथ्यांक अनुसार १ हजार ३६५ नेपालीहरूले अन्तिम निष्कासन आदेश पाए पनि कुनै कानुनी सुरक्षा नपाएका कारण अमेरिका बसिरहेका छन् । टीपीएस ( टेम्पोररी प्रोटेक्टेड स्टाटस) वा अन्य कुनै कानुनी सुरक्षा नभएका यी व्यक्तिहरू पक्राउ परेमा तुरुन्त निष्कासनको जोखिममा पर्नेछन् ।
यीमध्ये अधिकांश व्यक्ति २४ जुन २०१५ पछि अमेरिका प्रवेश गरेका हुन् र निष्काशनको अन्तिम आदेश पाइसकेका आप्रवासी भएको अमेरिकाबाट प्रकाशित समाचार पोर्टल नेपयोर्कले जनाएको छ ।
२४ जुन २०१५ भन्दा अगाडि अमेरिका प्रवेश गरेका नेपालीहरू टीपीएस अन्तर्गत संरक्षित भएका कारण उनीहरूलाई तत्काल निष्कासन गरिने छैन । हालसम्म अमेरिकी इमिग्रेशन अदालतहरूले ३ हजार ५०० नेपालीहरूलाई निष्काशन आदेश जारी गरिसकेका छन् । तीमध्ये करिब २ हजार जनाले स्वेच्छिक रूपमा अमेरिका छोडेका छन् ।
तर, अझै करिब १ हजार ५०० व्यक्ति टीपीएस अन्तर्गत सुरक्षित भए पनि निष्काशन आदेशको अन्तिम सूचीमा छन् । ट्रम्प प्रशासनले टीपएस समाप्त गरेमा करिब ३ हजार नेपाली ६ महिनाभित्रै निष्काशनको जोखिममा पर्ने छन् ।
अमेरिकामा सबैभन्दा धेरै गैरकानुनी आप्रवासी मेक्सिकोका छन् । सेन्टर फर माइग्रेसन स्टडिजले दिएको जानकारी अनुसार अमेरिकामा करिब ५२ लाख मेक्सिकन रहेका छन् । धेरै आप्रवासी देशहरू मध्ये भारत पाँचौँ स्थानमा छ । अमेरिकामा चार लाख भारतीय गैरकानुनी रूपमा बसोबास गरिरहेको सो स्टडिजले जनाएको छ । गत हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसमध्ये १८ हजार गैरकानुनी रूपमा रहेका भारतीयलाई स्वदेश फर्काउन पहल गर्ने वचनबद्धता व्यक्त गरेका थिए ।
भारतपछि फिलिपिन्सका तीन लाख र दुई लाख ४१ हजार चिनियाँ गैरकानुनी रूपमा रहेका छन् । यो मामिलामा नेपाल २६ औँ स्थानमा छ । नेपालका ३६ हजार आप्रवासी गैरकानुनी रूपमा रहेको तथ्यांक छ । यो सङ्ख्या कुल गैरकानुनी आप्रवासीको ०.३ प्रतिशत हो । नेपालपछि रुस छ । रुसका ३६ हजार आप्रवासी कागजविहीन यहीँ बसेका छन् । दक्षिण एसियाका बङ्गलादेश, अफगानिस्तान र पाकिस्तान क्रमशः ३९, ४२ र ५२ औँ स्थानमा छन् ।


प्रतिक्रिया दिनुहोस्