अमेरिकाको ४७ औँ राष्ट्रपतिको रुपमा ट्रम्पले लिए शपथ: ट्रम्प युगको सुरुवात

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ माघ २०८१, मंगलवार
3 Min Read
Aa

काठमाडौँ – डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको शपथ लिएका छन्। ४० वर्षमा पहिलोपटक भित्रपट्टि शपथ समारोह आयोजना भएको छ। जहाँ करिब ८०० पाहुना मात्र उपस्थित भएको बताइएको छ। यद्यपि बाहिर अत्यधिक ठण्डीका बाबजुद ट्रम्प समर्थकको ठूलो भीड जम्मा भएको छ।

अब्राहम लिंकनको बाइबल र आफ्नो पारिवारिक समेत गरी दुईवटा बाइबल छोएर उनले शपथ लिए। ट्रम्पभन्दा अगाडि उपराष्ट्रपति जेडी भान्सले शपथ लिएका थिए।

- Advertisement -
Ad imageAd image

 

 

शपथ समारोहमा पूर्वराष्ट्रपतिहरूको लर्को पनि लागेको छ। ११ दिनअघि जिम्मी कार्टरको अन्तिम बिदाइमा भेला भएका बुस, क्लिन्टन र ओबामा यहाँ पनि भेला भएका छन्। तर, मिसेल ओबामा भने उपस्थिति भइनन्।

 

 

अर्जेन्टिनी राष्ट्रपति हावियर मिलेइ र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी अतिथिदीर्घामा उपस्थित छन्। त्यस्तै ट्रम्पका मन्त्रीहरू पनि सो समारोहमा सहभागी भएका छन्। त्यस्तै सर्वोच्च अदालतका ९ जनै न्यायाधीश पनि उपस्थित छन्।

साथमा ट्रम्पका सन्तानहरू इभान्का, डोनाल्ड ट्रम्प जुनियर, टिफानी, एरिक र ब्यारोन पनि उपस्थित छन्।

 

 

त्यसका अलावा ट्रम्पलाई चुनाव जिताउन मेहनत गरेका इलोन मस्क, उनले चुनाव जितिसकेपछि निकट बनेका अर्बपति तथा ठूला कम्पनीका अगुवाहरू मार्क जकरबर्ग, टिम कुक, जेफ बेजोसलगायत पनि उपस्थित छन्।

 

 

ट्रम्पका मन्त्रीहरूले भन्दा यी प्रविधि कम्पनीका सीईओहरूले गतिलो सिट पाएको चर्चा पनि छ। सुरक्षाका लागि राजधानी डीसीवरपरको उडान ढिला गरिएको छ।

त्यसअघि ट्रम्प दम्पतीलाई बाइडेन दम्पतीले ह्वाइट हाउसमा स्वागत गरेको थियो। जहाँ उनीहरूबीच निजी भेट भएको बताइएको छ। बाइडेनले ट्रम्पका लागि चिठी पनि छाडेको बताएका छन्।

बाइडेनले ह्वाइट हाउस छाड्नुअघि आफ्नो परिवारका सदस्य, ट्रम्पविरुद्ध छानबिन गरेका तथा उनका निसानामा पर्नसक्ने अधिकारीहरू अग्रिम माफी दिएका छन्।

 

 

ट्रम्पको नाममा तीन कीर्तिमान
यससँगै उनको नाममा तीन कीर्तिमान पनि बनेका छन्। पहिलो, उनी अमेरिकाको सबैभन्दा वयोवृद्ध राष्ट्रपति बनेका छन्। उनी ७८ वर्षका भए।

पद छाड्दै गर्दा उनी ८२ वर्षका हुने छन्।

अघिल्लोपालि बाइडेनले ७७ वर्षको उमेरमा शपथ लिएका थिए।

दोस्रो, आपराधिक मुद्दामा दोषी ठहर भएका पहिलो राष्ट्रपति पनि बनेका छन् उनी। न्युयोर्कको जुरीले उनी पोर्नस्टारलाई तिरेको रकमको विवरण झुटो देखाएको अभियोगमा दोषी ठहर भएका हुन्। यही महिना न्युयोर्कका एक न्यायाधीशले उनलाई बिनासजायको दोषी ठहर गरेका थिए।

र तेस्रो, बीचमा चुनाव हारेर दुई कार्यकाल राष्ट्रपति बन्ने पहिलो रिपब्लिकन पनि उनी बनेका छन्।

 

 

लगत्तैको सम्बोधनमा ट्रम्पले आफू विश्वस्त र आशावादी भएर फर्केको बताए।

उनले अमेरिकाको स्वर्ण युग सुरु भएको घोषणा गरे। त्यस्तै, उनले न्यायको तराजु सन्तुलित बनाइने वाचा पनि गरे।

 

 

यो कार्यकालमा ट्रम्प अझ दृढ र सबल भएर ह्वाइट हाउस फर्केको विश्लेषण भइरहेको छ। शपथ लगत्तै उनले कार्यकारी आदेशहरू जारी गर्दै छन्।

उनले आप्रवासन, कर, कर्मचारी संख्या, व्यापार र उर्जाका क्षेत्रमा आमूल परिवर्तन ल्याउने बताएका छन्।

‘पहिलो कार्यकालमा सबैजना मसँग जुधिरहेका थिए,’ उनले डिसेम्बरमा भनेका थिए, ‘अहिले सबै मेरो मित्र बन्न खोजिरहेका छन्।’

 

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्