काठमाडौं – कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेका तर्फबाट बहस सकिएको छ । मंगलबार वरिष्ठ अधिवक्ताहरू डा नारायण घिमिरे, हरि सुवेदी, रोहितराज बाँस्तोला, अधिवक्ताहरू डा नारायणदत्त कँडेल, राजेन्द्र सेढाई, सुरज बस्नेत, सुविज्ञ पन्त, सञ्जय गोले र सुनिता राउतले बहस गरेका थिए ।
रविका तर्फबाट पूर्वमहान्याधिवक्ताद्वय रमन श्रेष्ठ र सुशील पन्त, सुरेन्द्र थापा मगरसहितका कानुन व्यवसायीले पनि बचाउ बहस गरेका छन् ।लामिछानेका तर्फबाट उभिएका कानुन व्यवसायीको बहस सकिएको हो । अब एक दुई जनाको बहस बाँकी रहेकाले बुधबार पनि निरन्तर रहने जिल्ला अदालत कास्कीले जनाएको छ ।
रविका कानुन व्यवसायीहरूको प्रतिवादी बहस सकिएसँगै अब मीना गुरुङ, कृष्ण गुरुङ र आरती गुरुङका कानुन व्यवसायीले बहस गर्नेछन् । यसअघि सोही प्रकरणमा पक्राउ परेका छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनालका पक्षबाट बहस भइसकेको छ ।
बाँकी तीन जनाको बहस सकिएपछि न्यायाधीश नितिज राईको इजलासले अभियुक्तहरूलाई पुर्पक्षको लागि जेल पठाउने, उन्मुक्ति दिने वा बाहिरै बसेर मुद्दा लड्ने भन्ने निर्क्योल गर्नेछ । यसैबीच रविको बयान सकिने दिन उनका समर्थकहरूले कास्की जिल्ला अदालतबाहिर प्रदर्शन गरेका थिए ।
उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस महामन्त्री गगन थापाविरुद्ध नाराबाजी पनि गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्