काठमाडौँ – ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।
केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी संवत् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ । मङ्गलबार बेलुकीदेखि नै राजधानीको ठमेल, बौद्ध, स्वयम्भू, नयाँ सडकलगायत क्षेत्रमा विशेष चहलपहल देखिएको छ ।
नयाँ वर्ष २०२५ को अवसरमा जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवा अभियानले दिवस मनाउन लागेको हो । नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो ।
बाह्र वर्षअघिदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोशाक दिवस मनाउन थालिएको थियो । दिवस मनाउन थालेपछि जनवरी १ तारिखका साथै विवाह, व्रतबन्धजस्ता सांस्कृतिक उत्सवमा पनि राष्ट्रिय पोशाक लगाउने युवाको सङ्ख्या बढ्न थालेको छ ।


प्रतिक्रिया दिनुहोस्