काठमाडौं – समाजको आधारभूत तहमा रहेका मानिसहरूका लागि स्वास्थ, शिक्षा तथा जीवनयापनको क्षेत्रमा संघर्षरत मानिस वा समुदायलाई सहयोग गर्नेगरी विगत केही वर्षदेखि सक्रिय रहेको सत्मार्ग फाउन्डेसनले कार्यस्थलमा दुर्घटनामा पर्दा स्पाइनल कडको इन्जुरीसँग जुधिरहेका हेमराज श्रेष्ठलाई आर्थिक सहयोग गरेको जनाएको छ ।
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नम्बर ४ डाँडागाउँ निवासी श्रेष्ठ निर्माण सम्बन्धि काम गर्ने सिलसिलामा काभ्रेकै बनेपा स्थित कार्यस्थलमै दुर्घटनामा पर्दा गएको असार ३ गतेदेखि अस्पतालमै स्पाइनल कड इन्जुरीको उपचार गराइरहेको र श्रेष्ठको आर्थिक अवस्था समेत कमजोर रहेका कारण उनको स्वास्थ उपचारमा केही सहयोग पुगोस् भन्ने उदेश्यले २३ हजार एक सय पाँच रुपैयाँ सहयोग गरेको फाउन्डेसनका अध्यक्ष तबरेज आलमले जानकारी दिए ।
स्पाइन कड इन्जुरीको समस्यासँग जुधिरहेका श्रेष्ठलाई सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष आलमले उनको आर्थिक क्षमताले भ्याएसम्म आफैंले उपचार गरेपनी लामो र खर्चिलो उपचार पद्धतिका कारण श्रेष्ठ परिवार निकै समस्यामा रहेकाले सहयोगका लागि सबैलाई अपिल समेत गरेका छन् । काठमाडौंको तिनकुनेमा केन्द्रीय कार्यलय रहेको फाउन्डेसनले यसअघि विरगंज महानगरपालिकामा वृहत् स्वास्थ शिविरका साथै नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै पवित्र पशुपति क्षेत्रमा जाडोमा न्यानो कपडाका साथै कम्बल वितरण जस्ता सामाजिक कार्य गर्दै आएको फाउन्डेसनका निर्देशक विशाल तिमल्सिनाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्