काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सलाई पाँच रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स शीर्षस्थानमा उक्लिएको छ । त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखराले १९.४ ओभरमा सबै विकेट गुमाएर १४८ रन मात्रै बनाउन सक्यो ।
पोखराका लागि एन्ड्रिज गउसले ३६, रेयमन रेफरले ३३, किरण ठगुन्नाले ३२, दिनेश खरेलले १५ र जेन मलिकले १० रनको योगदान दिएका थिए ।
सुदूरपश्चिमका लागि स्कट कगेलजिनले पाँच विकेट लिए। उनले ३.४ ओभरमा एक मेडियन राखेर १८ रन मात्रै खर्चिए । त्यस्तै, हरमित सिंहले तीन र सैफ जैबले एक विकेट लिए ।
यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा १५३ रन बनाउँदा आरिफ शेखले ४२, ब्रान्डन म्याकमुलनले २३, दीपेन्द्रसिंह ऐरीले २०, विनोद भण्डारीले १४, हरमित सिंहले १३ र इशान पाण्डेले १० रनको योगदान दिएका थिए ।
पोखराका लागि कुशल भुर्तेलले दुई, रेयमन रेफर, सागर ढकाल र मिचेल लिकले एक–एक विकेट लिएका थिए ।
यस्तै आजै भएको पहिलो खेलमा काठमाडौं गुर्खाज १ विकेटले विजयी भएको छ । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा विराटनगर किंग्सले दिएको ११८ रनको लक्ष्य काठमाडौंले १८.१ ओभरमा ११ बल बाँकी छँदै पुरा गर्यो । आजको जितसँगै काठमाडौले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । विराटनगर भने यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्