काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को २५औं खेलमा चितवन राइनोजले सानदार जित हात पारेको छ । चितवनले जनकपुर बोल्ट्सलाई ३२ रन हराउँदै जित निकालेको हो । टीयू क्रिकेट मैदानमा चितवनले दिएको १८१ रनको लक्ष्य पछ्याएको जनकपुरले १८ ओभरमा अल आउट हुँदै १४८ रन मात्र बनाउन सक्यो ।
जनकपुरका लागि जेम्स निशमले सर्वाधिक ६५ रन जोडे भने आशिफ शेखले २३, शुभ कंसकार १५ र मोहम्मद मोहशिनले १३ रन बाहेक अरु व्याटरले दोहोरो रन जोड्न सकेनन् । चितवन ८ अंक सहित शिर्ष ४मा पुगेको छ । जनकपुरलाई पराजित गर्दै चितवनले प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । जनकपुरलाई हराएसँगै पोखरा र विराटनगर औपचारिक रुपमा प्रतियोगिताबाट बाहिरिएका छन् ।
यसअघि टीयू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनायो । चितवनका लागि कप्तान कुशल मल्ल र रवि बोपाराले शतकीय साझेदारी गरे । मल्ल र बोपाराले तेस्रो विकेटका लागि ११३ रनको साझेदारी गरे ।
मल्लले ७२ रन जोडे भने बोपारा ४४ रन जोडेर आउट भए । हसन एइसाखिलले २८, विपिन रावतले ३, सन्तोष कार्कीले १४ र सोहिल तानविरले ५ रन बनाए । जनकपुरका लागि ललित राजवंशीले २, हर्ष थाकर, मोहम्मद मोहसिन र जिमी निशमले समान एकएक विकेट लिए ।
यस्तै आजै भएको पहिलो खेलमा मास्टेफेन इस्किनाजीको अर्धशतक प्रेरित काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ । इस्किनाजीले ६० रन बनाएपछि १३९ रनको लक्ष्य काठमाडौंले १४.१ ओभरमा ४ विकेट गुमाएर १४२ रन बनाउँदै पूरा गरेको हो ।
६ खेलमा तेस्रो जित हात पारेको काठमाडौंले प्लेअफ पुग्ने सम्भावना पनि कायम राखेको छ । ६ खेलबाट ६ अंक जोडेको काठमाडौं चौथो स्थानमा उक्लेको छ । काठमाडौंका ओपनर इस्किनाजीले ३४ बल खेल्दै १० चौका प्रहार गरे भने माइकल लेभिटले १८ बलमा ३२ रन बनाए । यस्तै भिम शार्कीले २० बलमा २२ रन बनाए ।
बलिङमा पोखराका विपिन खत्रीले ३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । माइकल लिस्कले १ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानम टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनाएको थियो ।
पोखराका लागि रेमोन रेइफरले अविजित रहँदै सर्वाधिक ४१ रन बनाए । ३० बल खेलेका उनले १ चौका र ३ छक्का प्रहार गरे । यस्तै, ओपनर दिनेश खरेलले २५ बल खेल्दै ६ चौका र १ छक्का मदतमा ३८ रन बनाए । उनले रासिद खानको एकै ओभरमा लगातार चार चौका सहित १८ रन जोडेका थिए । तर, त्यही ओभरको अन्तिम बलमा आउट भए । यस्तै दिलिप नाथले २४ बलमा २ छक्का मदतमा २७ रन बनाए ।
बलिङमा काठमाडौंका कप्तान करण केसी र रासिख खानले ३–३ विकेट लिए । करणले ४ ओभरमा २४ र रासिदले ४ ओभरमा ४३ रन खर्चिए । जेर्राड एरसामस र माइकल लेभिटेले किफायती बलिङ गर्दै समान १ विकेट लिए । एरासमसले ४ ओभरमा १४ तथा लेभिटले ३ ओभरमा १३ रन खर्चिएका थिए ।


प्रतिक्रिया दिनुहोस्