काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै पोखरा एभेन्जर्सले जितेको छ ।
प्रतियोगितामा पोखराले लगातार २ हार व्यहोरेपछि शुक्रबार जीत निकालेको छ । पहिलो र दोस्रो खेलमा क्रमशः चितवन राइनोज र जनकपुर बोल्ट्सविरुद्ध पराजय व्यहोरेको थियो । लुम्बिनीले दिएको १७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पोखराले १६.५ ओभरमा १ विकेट पनि नगुमाएर पूरा गरेको छ ।
दक्षिण अफ्रिकी मूलका अमेरिकन ब्याटर आन्द्रेस गौसले शतक र नेपाली युवा ब्याटर दिनेश खरेलले अर्धशतकीय पारी खेलेका छन् । गौसले ५५ बलमा १२ चौका र ५ छक्कासहित अविजित १०४ रनको पारी खेलेका छन् ।
दिनेशले ४६ बलमा ४ छक्का र ४ चौकाको मद्दतमा अविजित ६१ रनको योगदान दिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७० रन बनाएको छ ।
लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट पारी खेले । उनले ५९ बलमा १० चौका र ४ छक्कासहित ९५ रनको पारी खेलेका छन् । रोहितले पहिलो खेलमा पनि राम्रो ब्याटिङ गरेका छन् ।
विराटनगर किंग्स विरुद्धको खेलमा रोहितले २९ बलमा ४ चौका र २ छक्कासहित ४६ रन बनाए । शुक्रबार पोखराविरुद्ध टम मोरिसले ४५ र सन्दीप जोराले १८ रन जोडेका छन् ।
पोखराका लागि विपिन खत्रीले २ र म्याट क्रिचलेले १ विकेट लिए । जारी सिजनमा लुम्बिनीको लगातार दोस्रो हार हो । लुम्बिनी पहिलो खेलमा विराटनगर किंग्ससँग २ विकेटले पराजित भएको थियो ।
यस्तै आजै भएको पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले हराउँदै कर्णाली याक्सले पहिलो जित दर्ता गरेको छ । १३१ रनको लक्ष्य पाएको कर्णालीले ४ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । कर्णालीका लागि शिखर धवनले ४५, देव खनालले २५, चाडविक वाल्टनले ३० रन र अर्जुन घर्तीले ११ रनको योगदान दिए भने जिसन मक्सुदले १२ रनमा अविजित रहे ।
चितवनका लागि कप्तान कुशल मल्ल, जन निकल लफ्टी र रवि बोपराले एक एक विकेट लिए । टस हारेर ब्याटिङमा उत्रिएको चितवनका लागि रवि बोपराले ५९ रनमा अविजित रहे भने शरद भेषवाकर ३ बलमा ६ मा अविजित रहे ।
त्यस्तै, कप्तान कुशल मल्ल २७, विपिन रावल ११, जन निकल लफ्टी नौ, जन निकल लफ्टी र अमरसिंह रौटेला नौ, दिपक बोहरा आठ, लुक बेन्केस्टाइन र सोहेल तानविर शून्य, बनाएर आउट भए ।
कर्णालीका लागि विपिन शर्मा तीन, जिसन मक्सुद दुई, सोमपाल कामी र नन्दन यादवले समान एक एक विकेट लिए ।
एनपीएलमा चितवनको अपराजित यात्रालाई कर्णालीले रोकिदिएको छ । तीन खेलबाट चार अंक जोडेको चितवन तालिकाको तेस्रो स्थानमा छ । यसअघि चितवनले काठमान्डु गुर्खाजलाई पाँच विकेट र पोखरा एभेन्जर्सलाई ८७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । कर्णाली भने जितविहीन थियो । दुवै खेल हारेको कर्णाली एनपीएलमा पहिलो जित हात पारेको छ ।


प्रतिक्रिया दिनुहोस्