काठमाडौं – नरेन साउदकोको उत्कृष्ट बलिङमा काठमाडौं गुर्खाजलाई ७३ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलमा लगातार दोस्रो जित निकालेको छ ।
जितको लागि १६८ रनको लक्ष्य पछ्याएको काठमाडौं १५ ओभर ५ बलमा पूरा विकेट गुमाउँदै ९४ रनमा समेटियो । मात्र ४९ रन जोड्दा ४ विकेट गुमाइसकेको काठमाडौंले शुरूवात राम्रो गर्न सकेन । माइकल लेभिट ५ रनमा, शंकर राना ३ रनमा र भीम सार्की एवं जेराड इरामस १०/१० रनमा आउट भए ।
लगत्तै सुमित महर्जन पनि १४ रन बनाएर पाँचौ विकेटको रूपमा पेबिलियन फर्कंदा काठमाडौं थप दबाबमा आयो । पाँच विकेट गुमाउँदा ७४ रन बनाएको काठमाडौं यसपछि पनि सम्हालिन सकेन । यसपछि मात्र १२ रन जोड्ने क्रममा काठमाडौंले ५ विकेट गुमायो । स्टेफन इस्किनाजी ३७ रन र रसिद खान पनि २ रनमा आउट हुँदा काठमाडौं हार नजिक पुगेको थियो । लगतै प्रतिक श्रेष्ठ ८, हिटर करण केसी १ रनमा र साहब अलाम १ रनमा आउट हुँदा काठमाडौं ९४ रनमा समेटियो । बलिङमा नरेन साउद नायक बने । उनले ३ ओभर ५ बल बलिङ गर्दै मात्र १९ रन खर्चेर ५ विकेट लिए । अविनाश बोहराले २ विकेट हात पारे ।
यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनायो । सुदूरले ओपनर सेफ जेबलाई ११ रनमा गुमायो । पहिलो विकेट गुमाउँदा सुदूरपश्चिमले १७ रन बनाएको थियो । यसपछि दोस्रो विकेटको लागि विनोद भण्डारी र ब्राण्डन मकमलेनले ८६ रनको साझेदारी गर्दै इनिङ्स उकासे । यो क्रममा ब्रान्डनले अर्धशतक प्रहार गरे ।
३१ बलको सामना गर्दै ३ चौका र ४ छक्कासहित उनले ५० रन पूरा गरे । ५३ रन बनाएर उनी आउट भए । लगतै ३५ रन बनाएका विनोद भण्डारी तेस्रो विकेटको रूपमा पेबिलियन फर्किए । लगत्तै रोहन मुस्तफा ४ रनमा र आरिफ शेख ३ रनमा आउट भए । ५ विकेट गुमाउँदा सुदूरपश्चिमले १३३ रन बनाएको थियो ।
यसपछि दीपेन्द्र सिंह ऐरीले २५ बल खेल्दै ३ चौका र २ छक्कासहित ४३ रनको पारी खेले । उनी करणको बलमा लेभिटद्वारा क्याच आउट भए । यसपछि सुदूरपश्चिमले बाँकी ८ बलमा मात्र ५ रन बनायो । बलिङमा रसिद खानले २ तथा करण केसी, साहब अलाम र जेराड इरासमसले समान १/१ विकेट लिए । यो जितसँगै सुदूरपश्चिमले ४ अंक बनाएको छ । पहिलो खेलमा सुदूरपश्चिमले विराटनगरलाई हराएको थियो । तेस्रो खेल खेलेको काठमाडौंको यो दोस्रो हार हो ।
यस्तै आजै भएको पहिलो खेलमा जनकपुर बोल्टसले लगातार तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्सले दिएको १ सय ३८ रनको लक्ष्य निर्धारित १७.१ ओभरमै केवल तीन विकेट गुमाएर १४३ रन बनाएको हो । पोखरा भने लगातार दोस्रो खेलमा पराजित भयो ।
पोखराका लागि अलराउन्डर जिमी निशमले नटआउट ४० रन जोडे । उनले २० बलमा ५ छक्का प्रहार गरे। क्यानेडियन अलराउन्डर हर्ष थाकरले नटआउट १३ रन बनाए । ओपनर तथा कप्तान अनिलकुमार साह एक रनमा आउट भए पनि अर्का ओपनिङ ब्याटर आसिफ शेखले ३४ बलमा ३३ रन जोडे । उत्कृष्ट लयमा रहेका लाहिरू मिलान्थाले माइकल लिक्सको बलमा सागर ढकालबाट क्याच हुनुअघि ३२ बलमा आठ चौका प्रहार गर्दै ४५ रनको योगदान गरे ।
टस जितेको जनकपुरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पोखराले ७ विकेटको क्षतिमा १३८ रन जोड्यो । पोखराका ब्याटर दोस्रो खेलमा पनि चल्न सकेनन् । ओपनिङमा आएका दिनेश खरेलले १० रन जोड्न सके। न्युजिल्यान्डमा बसेर त्यहाँको घरेलु क्रिकेट खेल्ने उनी पाँचौ ओभरको अन्तिम बलमा जिमी निमशको बलमा क्याच भए ।
अर्का ओपनर आन्द्रेस गौसले २० रन जोडे । अमेरिकी ब्याटर आन्द्रेसलाई १६ बलमा तीन चौका र एक छक्का प्रहार गरेको अवस्थामा ललित राजवंशीले आउट गरे । कप्तान कुशल भुर्तेल दोस्रो खेलमा पनि चल्न सकेनन् । उनी ६ रनमा स्टमपिन भए । दिलीप नाथले मोहमद मोसिनको एलबिडब्लूको धरापमा पर्नुअघि ११ रन जोडे ।
मार्कस क्रिचलीले ३५ रन जोडेपछि पोखराको स्कोर बढेको थियो। उनले ३० बलमा तीन चौका र एक छक्का प्रहार गरे ।
१९औं ओभरमा जिमी निशमको बलमा अनिलकुमार साहबाट क्याच हुनुअघि रेमन्ड राइफरले २० बलमा १७ रन जोडे ।
अन्तिम ओभरमा आउट भएका स्कटिस अलराउन्डर माइकल लिस्कले १३ बलमा २५ रन जोडे। अन्तिम ओभरको सुरुवाती तीन बल डट खेलेपछि उनलाई किशोर महतोले आसिफ शेखबाट क्याच गराए । बलिङमा जनकपुरका ललित राजवंशीले ३ विकेट लिए । उनले चार ओभरमा ३१ रन खर्चिए। जिमी निशमले दुई विकेट लिने क्रममा २९ रन दिए ।
लगातार तीन खेल जितेको जनकपुर ६ अंकका साथ लिगको शीर्ष स्थानमा छ । जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स तथा दोस्रो खेलमा कर्णाली याक्सलाई समान ८ विकेटले हराएको थियो ।


प्रतिक्रिया दिनुहोस्