काठमाडौं – नेपाल प्रियिमर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले चितवन राइनोजसामू लज्जास्पद हार व्यहोरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा पोखरा ८७ रनले पराजित भएको हो । चितवनले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखराको ब्याटिङ निकै कमजोर देखिएको थियो ।
पहिलो ओभरको पहिलो बलमै कप्तान कुशल भु्र्तेत आउट भएसँगै खेल ३.२ ओभर पुग्दा पोखरा ६ विकेट गुमाउन पुगेको थियो । कुशल आउट भएलगत्तै पहिलो ओभरको पाँचौं बलमा दिलिप नाथ ४ रनमा र अन्तिम बलमा बास डी लिडे गोल्डन डकआउट भएका थिए । सो ओभरको सबै विकेट चितवनका सोहेल तानबिरले लिएका थिए ।
चौथो ओभरमा थप ३ विकेट गुमाउँदा पोखरा निकै धरमराउँदो देखिएको थियो । ३.१ ओभरमा दिनेश खरेल १ रनमा एलबीडब्लु आउट हुँदा ३.४ ओभरमा किरण थगुन्ना एलबीडब्लु आउट हुन पुगे । ३.६ ओभरमा माइकल लिस्क शून्यमा नै आउट भए । तीनै विकेट रिजन ढकालले लिएका थिए ।
चौथो ओभर सकिँदा पोखराले ६ विकेट गुमाएर ७ रन मात्र बनाउन सकेको थियो । ६.२ ओभरमा लुक बेन्केन्स्टिनले चितवनका लागि सातौं विकेट लिइँदै रेमन रेफरलाई १ रनमा आउट गरे । त्यसपछि क्रिजमा आएका मार्कस क्रिचले १७ र नारायण जोशी ३० रनको योगदान दिए । पोखरा १३.२ ओभरमा ७४ रन जोड्दै अलआउट हुन पुग्यो । यसअघि चितवनले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १६१ रन बनाएको थियो ।
यस्तै आजै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जित हात पारेको छ । विराटनगर किङ्सलाई ९० रनले हराउदै सुदूरपश्चिम रोयल्सले जित हात पारेको हो । सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगरले १६ ओभरमा ९२ रन बनाउदै अल आउट भयो ।
विराटनगरका बसिर अहमदले २४, निकोलस किर्टोनले १५ र क्रिस सोलेले १० रन बनाए । अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।विराटनगरविरुद्ध अविनाश बोहोरा र स्कटले तीन/तीन, ब्रान्डन, इशान पाण्डे र सैफ जैबले एक/एक विकेट लिए ।


प्रतिक्रिया दिनुहोस्