काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा शनिबारबाट काठमाडौंमा नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदैछ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार एनपीएलको भव्य शुभारम्भसंगै उद्घाटन खेल विराटनर किङ्स र जनकपुर बोल्ट्सबीच हुनेछ ।
प्रतियोगिता अघि शुक्रबार त्रिवि क्रिकेट मैदानमा आयोजित कार्यक्रममा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले एनपीएलको सबै तयारी पूरा भएको जानकारी दिए । नेपाली क्रिकेटमा नयाँ उचाइमा पुराउने क्यानको प्रयासमा सबैले सहयोग गरेको उनले बताए ।
एनपीएलमा आठ फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
टीमका मार्की खेलाडीहले एनपीएलप्रति निकै उत्साहित भएको बताएका छन्। त्यस्तै उनीहरुले टीमको प्रशिक्षण राम्रो भएको र टीम सेट भएको जनाएका छन् ।
कार्यक्रममा एनपीएलको आधिकारिक मस्कट सार्वजनिक गरिएको छ। एनपीएलको मस्कट जीत हिउँ चितुवा रहेको छ । एनपीएलका लागि त्रिवि क्रिकेट मैदानको पिचदेखि प्याराफिटसम्ममा परिवर्तन गरिएको छ भने भिआइपी सिटलाई बढाइएको छ ।


प्रतिक्रिया दिनुहोस्