काठमाडौं – नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सको टिमबाट खेल्न भारतका चर्चित खेलाडी शिखर धवन नेपाल आइपुगेका छन् ।उनी शुक्रबार साँझ काठमाडौं आइपुगेका हुन् । उनलाई कर्णाली याक्स टिमका अफिसियलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
एनपीएल खेल्न आउने धवन सबैभन्दा ठुलो नाम हो । बाँयाहाते ब्याटर उनले ओपनिङमा खेल्ने गर्छन् भने भारतीय टोलीबाट सन् २०१३ को च्याम्पियन्स ट्रफी तथा सन् २०१६ र २०१८ को एसिया कप जितेका छन् । त्यसैगरी आइपीएल टीम सनराइजर्स हैदराबादबाट आइपीएलको उपाधि पनि जितेका छन् ।
कर्णालीका अन्य विदेशी खेलाडीमा हङकङका बाबर हायात, वेस्टइन्डिजका चाडविक वाल्टन र ओमानका जीशान मकसुद छन् । उनीहरू तीनैजना नेपाल आइसकेका छन् ।
हालसम्म १५ देशका ४० जना विदेशी खेलाडीहरू एनपीएलका लागि अनुबन्धित छन् । एक टिमले चारजना विदेशी खेलाडी अनिवार्य राख्नुपर्ने प्रावधान छ भने उपलब्धता हेरेर ६ जनासम्म विदेशी राख्न पाउँछन् ।
एनपीएलका लागि पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सले ६-६ जना खेलाडी अनुबन्ध गरेका छन् भने कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले ४-४ खेलाडी अनुबन्ध गरेका छन् । अन्य चार टोलीले ५-५ जना विदेशी खेलाडी राखेका छन् ।


प्रतिक्रिया दिनुहोस्