काठमाडौं – फिफा विश्वकप–२०२६ छनोटमा कोलम्बियाले पहिलो हार व्यहोरेको छ । कोलम्बियाले शुक्रबार बिहान १० खेलाडीमा सीमित बन्दै खेलको अन्त्य गरेको घरेलु टिम बोलिभियासँग १–० को हार व्यहोरेको हो ।
शुक्रबार बोलिभियास्थित म्युनिसिपल रंगशालामा सम्पन्न खेलमा बोलिभियालाई जित दिलाउन मिगेल टेर्सेरोसले निर्णायक गोल गरे । उनले ५८औँ मिनेटमा गोल गर्दै घरेलु टिमलाई अग्रतामा राखेका थिए । उनले कोलम्बियाका दुई खेलाडीलाई ‘बिट’ गर्दै उत्कृष्ट गोल गरेका थिए ।
त्यसअघि खेलको पहिलो हाफमै बोलिभिया १० खेलाडीमा सीमित बनेको थियो । २०औँ मिनेटमा हेक्टर क्वेयरले सोझै रातो कार्डको दर्शन गरेपछि बोलिभिया १० खेलाडीमा समेटिएको हो ।
जितसँगै नौ खेलबाट १२ अंक जोडेको बोलिभिया तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । समान खेलबाट १६ अंक जोडेको कोलम्बिया भने दोस्रो स्थानमा छ । यो हारसँगै कोलम्बियाले छनोटको शीर्ष स्थानमा उक्लिने अवसर गुमायो । तालिकाको शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले नौ खेलबाट १९ अंक जोडेको छ ।
यस्तै पहिलो हाफमा बनाएको १–० को अग्रता जोगाउन नसक्दा विश्वकप विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को छनोट खेलमा भेनेजुयलासँग १–१ को बराबरीमा रोकिएको छ । शुक्रबार भेनेजुयलामा भएको खेलमा अर्जेन्टिनाका लागि रक्षक निकोलस ओटामेन्टीले गोल गरेका थिए । घरेलु टिमका सालोमोन रोन्डेनले गोल फर्काए ।
खेलको १३औँ मिनेटमा ओटामेन्डीले गोल गर्दै अर्जेन्टिनालाई अग्रतामा राखेका थिए । तर, खेलको ६५औँ मिनेटमा रोन्डोनले गोल गर्दै घरेलु टिमलाई खेलमा फर्काएका हुन् । यसपछि दुवै टिमबाट गोल हुन नसक्दा खेल १–१ को बराबरीमा समाप्त भएको हो ।
विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाको यो पहिलो बराबरी हो । तालिकाको शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले नौ खेलबाट १९ अंक जोडेको छ । यसअघि अर्जेन्टिना गत महिना भएको खेलमा कोलम्बियासँग २–१ ले पराजित भएको थियो ।
समान खेलबाट ११ अंक जोडेको भेनेजुयला तालिकाको छैटौँ स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस्