रवि लामिछानेका कार्यक्रमैपिच्छे विरोध प्रदर्शन: भरतपुरमा सहकारी पीडितमाथि ढुंगा प्रहार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ आश्विन २०८१, शनिबार
2 Min Read
Aa

काठमाडौं – सहकारी ठगीको विवादमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेका कार्यक्रमैपिच्छे विरोध प्रदर्शन हुन थालेको छ ।

शुक्रबार चितवनको मुग्लिङमा सहकारी पीडितले सभापति लामिछानेलाई कालोझण्डा देखाएको भोलिपल्ट शनिबार भरतपुरस्थित नारायणकला मन्दिरमा रास्वपाको प्रशिक्षण कार्यक्रम चलिरहँदा विरोध प्रदर्शन भएको छ ।

- Advertisement -
Ad image

सहकारी पीडितले आफ्नो पैसा फिर्ता हुनुपर्ने माग राख्दै रविविरुद्ध लगातार प्रदर्शन गरिरहेका छन् । शनिबार लायन्स चोकबाट सुरु भएको सहकारी पीडितको प्रदर्शन नारायणीकला मन्दिरअगाडि पुगेपछि मन्दिरभित्र रहेका रविका समर्थकले प्रदर्शनकारीमाथि ढुंगा र पानीका बोतल प्रहार गरेको सहकारी पीडित संघर्ष समितिका संयोजक सालिकराम दवाडीले जानकारी दिए ।

विरोध प्रदर्शनमा गएका ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते भएका १ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको संयोजक दवाडीले बताए । ‘सहकारी पीडितमाथि प्रहरी प्रशासनले दमन गरेको छ, हामी शान्तिपूर्ण प्रदर्शन गरेर रविलाई ज्ञापनपत्र बुझाउने तयारीमा थियौं । सो क्रममा भित्रबाट ढुंगा र पानीका बोतल प्रहार भयो,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय चितवनले कार्यक्रमस्थलमा झडपको सिर्जना भएपछि प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ । कार्यक्रमस्थलमा सुरक्षाका लागि खटिएको प्रहरीले स्थिति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रास्वपा नेताहरूले भने कांग्रेस–एमालेले रास्वपाको कार्यक्रम बिथोल्न खोजेको आरोप लगाएको छ ।

यसैबीच, शनिबार रास्वपाद्वारा आयोजित ‘दुग्ध क्षेत्रको विकास’ विषयक नीति–मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले एउटा राजनीतिक दल आफूलाई सत्तामा पुग्न मात्रै तयार गर्ने परिपार्टीलाई परिवर्तन गर्ने ध्येयले रणनीतिक रूपमा पार्टीका विभागलाई सक्रिय बनाएको बताए ।

‘एउटा राजनीतिक दल आफूलाई सत्तामा पुग्न मात्रै तयार गर्ने परिपार्टीलाई परिवर्तन गर्ने ध्येयले हामी रणनीतिक रूपमा विभागहरूलाई सक्रिय पारिररहेका छौं । जनताले परिवर्तनको अपेक्षा गरेका छन् । सत्ता र पात्र परिवर्तनको घटना हामीले हेर्‍यौं । तर त्यस पछाडिको रूपान्तरणको प्रक्रिया अधुरै रहेको छ । त्यसैले हामीले भ्रातृ संगठनलाई सक्रिय नबनाई विभागहरूलाई सक्रिय बनाउने नीति बनाएका छौं,’ उनले भने ।

जनताले बहुमत प्राप्त गरेर सरकारको नेतृत्वमा पुग्दा पार्टीका विभागहरूले सहयोग गर्ने उनले बताए । किसान लक्षित गर्दै नीति बनाउन पार्टीले नीति मन्थन कार्यक्रम राखेको उनले बताए ।

उनले भने, ‘हामीलाई कुनै चन्दादाताका लागि नीति बनाइदिनुपर्ने छैन । त्यो बाध्यता छैन । किसानलाई आवश्यक नीति बनाउन हामीलाई कसैले रोक्न सक्दैन ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्