दाउन्नेमा सडक भाँसियो: मलेखुमा फेरि पहिरो खस्यो यातायात अवरुद्व

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ आश्विन २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – पूर्वपश्चिम राजमार्गको दाउन्ने र पृथ्वी राजमार्गको मलेखुमा फेरि सडक अवरुद्ध भएको छ ।

राजधानी काठमाडौं जोड्ने सडकअन्तर्गत धादिङको मलेखुमा फेरि पहिरो खसेको छ । अविरल वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ र चितवनमा पर्ने सडक खण्ड लगातार अवरुद्ध हुँदै आएकोमा सोमबार साँझ फेरि पहिरो खसेको हो ।

- Advertisement -
Ad imageAd image

पहिरो खस्ने क्रम नरोकिएपछि पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडक खण्डमा थप प्रहरी परिचालन गरिएको छ । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीलाई मुग्लिन–नागढुंगा क्षेत्रको सवारी व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको छ । रातको समयमा थप जोखिम हुने आकलन गरेर प्रहरीले राति यात्रा नगर्न आग्रह गरेको छ ।

नागढुंगा हुँदै काठमाण्डु भित्रिन खोजेका साना सवारीसाधनलाई प्रहरीले गल्छीबाट नुवाकोट हुँदै काठमाडौं पठाएको छ । सवारीसाधन पार्किङ गर्दा भिरालो ठाउँमा नगर्न प्रहरीले आग्रह गरेको छ ।

यसैगरी, पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भाँसिएको छ । बर्दघाट नगरपालिका–४ खुसार्नी खोलामा वर्षाका कारण हाइटेन्सन लाइनको पोल ढलेको र सडक किनारको केही भाग भाँसिएको प्रहरीले जनाएको छ ।

यातायात अवरुद्ध भएपछि सयौ यात्रु अलपत्र परेका छन् । सडक डिभिजन कार्यालय र विद्युत् कार्यालय नवलपरासीसँग समन्वय गरेर अवरोध हटाउने काम भइरहेको जनाइएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्