काठमाडौं – सभापति रवि लामिछाने पक्राउको हल्लापछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले आइतबार केन्द्रीय समितिको बैठक बोलाएको छ । समसामयिक राजनीतिक र विविध विषयमा छलफलका लागि रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको जनाएकाे छ ।
रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार समसामयिक राजनीतिक विषय र उपसभापति एवं प्रतिनिधिसभा सदस्य स्वर्णीम वाग्लेको चीन भ्रमणको रिपोर्टिङका लागि बैठक बोलाइएको हो ।
साथै बैठकमा पार्टी गतिविधिको रिपोर्टिङ र प्रथम राष्ट्रिय भेलाको समीक्षासमेत हुने उनले बताए । स्थानीय तह उपनिर्वाचन र महाधिवेशनकेन्द्रित पार्टी गतिविधिबारे पनि केन्द्रीय समिति बैठकमा छलफल हुनेछ ।
रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ । भदौ ६ गते रास्वपाको केन्द्रीय समिति बैठकले पहिलोपटक स्थानीय तहको चुनावमा भाग लिने निर्णय गरेको हो ।
निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।


प्रतिक्रिया दिनुहोस्