काठमाडौं – सहकारी ठगी प्रकरणमा पक्राउ परेका छविलाल जोशीले रकम अपचलनमा रवि लामिछाने र जितेन्द्रबाबु (जीबी) राई नै मुख्य जिम्मेवार रहेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत सँगको बयानका क्रममा सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता अस्विकार गर्दै रवि लामिछाने र जीबी राई नै मुख्य जिम्मेवार रहेको प्रारम्भिक बयान दिएको बुझिएको छ ।
आईतबार पक्राउ परेका जोशीलाई थप पाँच दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, कास्कीले अनुमति दिइसकेको छ । जसअनुसार अब उनीमाथि थप पाँच दिन अनुसन्धान हुनेछ ।
उनलाई हिजै साँझ पोखरा लगिएको थियो । गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालकसमेत रहेका जोशीमाथि तीनवटा कसूरमा अनुसन्धान गर्नुपर्ने माग प्रहरीले गरेको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा उनीविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको कसूरमा अनुसन्धान हुनेछ ।
प्रहरीले जानकारी दिएअनुसार जोशीकै बयानका आधारमा रवि लामिछानेमाथि समेत पक्राउ अनुमति लिने कास्की प्रहरीको तयारी छ । उनका साझेदार जीबीविरुद्ध भने गएको वर्ष नै पक्राउ पुर्जी जारी भएको हो तर, उनी फरार छन् ।


प्रतिक्रिया दिनुहोस्