सहकारी ठगी प्रकरणः संसदीय विशेष समितिको म्याद १५ दिन थपियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ भाद्र २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको कार्यवधि १५ दिन थप भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा विशेष छानविन समितिका सभापति सूर्यबहादुर थापाक्षेत्रीले समयावधि थपका लागि प्रस्ताव पेश गरेका थिए ।

‘सहकारी बचतकर्ताहरुको बचत रकम सुरक्षाको हेतु, प्राप्त सूचनाहरुको थप पुष्टि र पुनर्पु्ष्टिसमेतका कार्य गर्न समय अपुग भएको हुँदा थप समय माग गर्ने भनी समितिको बैठकबाट निर्णयसमेत भएकाले समितिलाई १५ दिनको समय थप हुन सभासमक्ष प्रस्ताव पेश गर्दछु,’– समितिको समयावधि थपको प्रस्ताव पेश गर्दै उनले भने ।

- Advertisement -
Ad image

उक्त प्रस्ताव सभामुख देवराज घिमिरेले निर्णायर्थ सभासमक्ष पेश गरे । प्रतिनिधि सभाबाट समयावधि थपको प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो ।

प्रस्ताव पेश गर्ने क्रममा विशेष समितिका सभापति थापाले हालसम्म समितिले विभिन्न सहकारी संस्थाको बचत रकम अपचलनमा जोडिएका भनी आरोपित ५० जना व्यक्तिहरुसँग सोधपुछ कार्य गरिसकिएको बताए ।

समितिको कार्यादेश भित्ररही संघ, प्रदेश र स्थानीय तहका सहकारीसँग सम्बद्ध निकायहरुसँग छलफल, सहकार्य र समन्वय गरी कार्य गरिरहेको पनि उनले बताए ।

उनले सार्वजनिक विदाको दिनबाहेक समितिले विहान, दिउँसो र मध्यरातिसम्म काम गरिरहेको जानकारी गराए । समितिले अथक मेहनत गरिरहँदा पनि निर्धारित समय यही भदौ २२ गते सम्म काम समाप्त हुन नसक्ने अवस्था आइपरेको बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्