पारा ओलम्पिक: पलेशाले जितिन् कीर्तिमानी कांस्य पदक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ भाद्र २०८१, शनिबार
2 Min Read
Aa

काठमाडाैं – पारा ओलम्पिकमा नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले कांस्य पदक जितेकी छन् ।

फ्रान्सको पेरिसमा जारी पेरिस पारा ओलम्पिकमा पलेशाले नेपालका लागि ऐतिहासिक पदक दिलाएकी हुन् । उनले के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनि तौलमा कांस्य जितेकी हुन् ।

- Advertisement -
Ad imageAd image

कांस्य पदकको लागि भएको खेलमा पलेशाले सर्वियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गरेकी हुन् । नेपाली खेलकुदको इतिहासमै ओलम्पिकमा आधिकारिक पदक जित्ने पलेशा पहिलो खेलाडी बन्दै कीर्तिमान रचेकी छिन् ।

पहिलो रिपेचेजमा फ्रान्सकी सोफी काभरजानलाई २-१ ले पराजित गर्दै पलेशा कांस्य पदक नजिक पुगेकी थिइन् । पलेशाका प्रशिक्षक कविराज नेगी लामाले पेरिसबाट संक्षिप्त कुराकानीमा यो जित सम्पूर्ण नेपाली र नेपाली खेलकुदको जित भएको बताए ।

शीर्ष वरीयताप्राप्त ब्राजिलकी कार्डोसो फर्नान्डेजसँग क्वाटरफाइनलमा १०–८ अंकले पराजित भएपछि पलेशाको पेरिसमा फाइनल पुग्ने बाटो रोकिएको थियो । ५ मिनेटको प्रतिस्पर्धामा पलेशाले अन्तिम ५४ सेकेन्ड बाँकी रहँदासम्म ८–६ ले अग्रता बनाइसकेकी थिइन् । त्यसपछि आक्रामक बनेकी ब्राजिली फर्नान्डेजले बडी किकबाट लगातार ४ अंक बटुल्दै खेल जितेकी थिइन् ।

नेपालले सन् २००४ को एथेन्ज पारा ओलम्पिकदेखि पारा ओलम्पिकमा सहभागिता जनाउन थालेको हो ।

नेपालले ओलम्पिक इतिहासमा सन् १९८८ को सोल ओलम्पिकमा तेक्वान्दोको प्रदर्शनी खेलमा कांस्य पदक जितेको थियो । उक्त कांस्य विधान लामाले जितेका थिए । नेपालले सन् १९६४ को टोकियोदेखि ग्रीष्मकालीन ओलम्पिकमा सहभागिता जनाउन थालेको हो । सन् २००४ एथेन्सबाट नेपालले पारा ओलम्पिकमा पनि भाग लिने थालेको इतिहास छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्