काठमाडौँ – श्रीलंका जान अब भिसा नचाहिने भएको छ । बुधबार त्यहाँको मन्त्रिपरिषद बैठकले आगामी अक्टोबर १ (भदौ १६) देखि नेपाल, भारत लगायत ३५ देशका नागरिकलाई बिना भिसा देश प्रवेश गर्न दिने निर्णय गरेको हो ।
बुधवार राति सामाजिक सञ्जाल ‘एक्स’ मार्फत श्रीलंकाका विदेश मन्त्रीएमयूएम अलि साब्रीले भिसा नचाहिने देशको सूचि सार्वजनिक गर्दै नेपालसहित विभिन्न ३५ देशलाई भिसा फ्रि गरिएको घोषणा गरेका हुन् । आगामी अक्टोबर १ बाट ६ महिनाको लागि यो प्रावधान लागू हुनेछ । भिसा फ्रि गरिएका ३५ देशको सूचिमा नेपाल १२औं स्थानमा छ ।
उक्त सूची सार्वजनिक गर्दै उनले लेखेका छन्– ‘भिसामुक्त शासनको दिशामा पहिलो कदम ।’
अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार, अब आगामी ६ महिनासम्म ३५ देशका नागरिक भिसाबिनै श्रीलंका प्रवेश गर्न सक्नेछन् ।
परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले भिसा नलाग्ने मुलुकहरूको सूचीमा नेपाललाई पनि समेटेकोप्रति खुसी व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा श्रीलंकाका विदेशमन्त्रीको पोस्टलाई रिपोस्ट गर्दै लम्सालले धन्यवाद दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्