थामे अपडेटः २० घर र विद्यालय पुरिए, एक जना बेपत्ता !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ भाद्र २०८१, शनिबार
3 Min Read
Aa

विराटनगर – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेमा शुक्रबार दिउँसो बाढीले २० घर, थामे आधारभूत विद्यालय र एउटा क्लिनिकको भवन बगाएको छ । थामे खोलाको बाढीमा परी ५५ वर्षीय निमा नुरु टुडु शेर्पा बेपत्ता भएका छन् ।

पर्यटकीय गाउँ थामेमा दिउँसो करिब १ः३० बजे अचानक बाढी आएको थियो । दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलामा एक्कासि आएको बाढीले स्थानीयलाई अत्याएको जिल्ला प्रहरी कार्यालयका डीएसपी द्वारिकाप्रसाद घिमिरेले बताए । ‘बाढीले केही घर पुरेको छ, केहीलाई क्षति गरेको छ । एक जना बेपत्ता छन् । दिउँसोको घटना हुनाले ठूलो मानवीय क्षति भने हुन पाएन,’ उनले भने । बाढी आउँदा विद्यालय छुट्टी भइसकेको थियो । कतिपय स्थानीय शुक्रबारे हटिया भर्न पाँच घण्टा पैदल दूरीमा रहेको नाम्चे गएका थिए । डीएसपी अधिकारीका अनुसार बाढीले क्षति गरेका सातवटा घर ढल्ने अवस्थामा छन् ।

- Advertisement -
Ad imageAd image

प्रमुख जिल्ला अधिकारी देवी खत्री पाण्डेका अनुसार बाढी आएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय थाम्बुचे, नाम्चेबाट प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएको थियो ।

डीएसपी घिमिरेले थामेमा रहेका प्रहरीसँग समेत आफूहरूको सञ्चार सम्पर्क विच्छेद रहेकाले घटनास्थलबारे विस्तृत विवरण थाहा हुन नसकेको बताए ।

खोला थामेमा आएको बाढी मिसिएपछि दूधकोशीको तटीय क्षेत्रमा पनि क्षति पुगेको छ । दूधकोशीमा पानीको बहाव बढ्दा खुम्बु क्षेत्र जाने एक मात्र पक्की पुलमा क्षति पुगेको छ ।

थामेको जनसंख्या ३ सय ७० हो । तर पर्यटकीय समय नभएकाले अहिले आधाभन्दा बढीको बसाइ काठमाडौं लगायत अन्य ठाउँमा छ । प्रहरीका अनुसार बाढीपछि थामेका ९३ जना, स्थानीय विद्यालयको छात्रावासमा रहेका आठ शिक्षक, दुई कर्मचारी र ३२ विद्यार्थीसहित १ सय ३५ जनालाई सुरक्षित ठाउँमा सारिएको छ । पीडितका लागि स्थानीय सरकारले राहतको योजना बनाउन थालेको छ ।

प्रहरीका अनुसार बाढीको सतह साँझ केही घटेको थियाे । सुमद्र सतहबाट ३ हजार ८ सय मिटरमा रहेको थामेमा कसरी अचानक बाढी आयो भन्नेबारे केही खुलेको छैन । थामे खोलाको शिरमा रहेका ससाना हिमताल फुटेर या कुनै पहाड खसेर बाढी आएको स्थानीयकाे आकलन छ ।

थामे तिब्बत जाने मार्गमा पर्ने शेर्पा बस्ती हो । चीन जोड्ने नेपालको नाङपाला नाका यही थामे हुँदै पुगिन्छ । थामेबाट नाङपाला पुग्न २ दिन हिँड्नुपर्छ । नाम्चे पुगेका ३० प्रतिशत पर्यटक थामे जाने गर्छन् । बाढीले बगाएका १२ घरमध्ये अधिकांशमा होटल थिए ।

स्थानीयका अनुसार ३० वर्षपहिले पनि थामेमा यस्तै खाले बाढी आएको थियो । थामेकै पारि दोलखाको रोलवालिङ खोलामा गत असार २१ को राति अचानक आएको बाढीले ८ घर बगाएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्