बँदेल मार्न थापेको धरापमा गैँडा परेपछि ४ जना पक्राउ, हुनसक्छ १५ वर्षसम्म कैद

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ श्रावण २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौँ – चितवनमा बँदेल मार्न थापेको विद्युतीय धरापमा परी गैँडा मरेपछि चार जनालाई पक्राउ गरिएको छ। भरतपुर महानगरपालिका–२६ मा गैँडा मारेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए।

स्थानीयले मकैबारीमा आउने गरेको बँदेल मार्न थापेको विद्युती पासोमा परी अन्दाजी १३ वर्षको पोथी गैँडा मरेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

- Advertisement -
Ad imageAd image

सुरुआतमा गैँडा प्राकृतिक कारणले मरेको जस्तो देखिए पनि शव परीक्षणका क्रममा विद्युतीय धरापमा पारी मारिएको खुलेपछि अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको प्रमुख संरक्षण अधिकृत पुर्जा पुनले बताए।

“गैँडाको खाग, खुर सुरक्षित भए पनि जुनसुकै किसिमले वन्यजन्तुलाई घाइते बनाउने, घेरा हाल्ने, लखेट्ने, मार्नेजस्ता गतिविधि चोरी सिकारअन्तर्गत पर्दछन्”, उनले भने।

पुनका अनुसार अनुसन्धानका क्रममा साउन ८ गते दुई जना र १० गते दुई जनालाई पक्राउ गरिएको हो। पक्राउ परेका चारै जनालाई चितवन जिल्ला अदालतबाट ६ दिनको समय थप गरी अनुसन्धान भइरहेको छ।

पक्राउ परेका चार जनालाई संरक्षित वन्यजन्तु चोरी सिकार ऐन अन्तर्गत म्याद थप गरिएको हो। ऐनको व्यवस्था अनुसार यस्तो कार्यमा सङ्लग्नलाई रु ५ लाखदेखि १० लाखसम्म जरिवाना र ५ वर्षदेखि १५ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने व्यवस्था छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: