काठमाडौँ – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जको शवगृह परिसर त्यसै पनि सधैँ नै सन्नाटापूर्ण रहन्छ । त्यहाँको बुधबारको दृश्य अरू भयावह र कारुणिक रह्यो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलायन्सको विमानमा सवार कर्मचारी, प्राविधिकका शव ल्याउन नपाउँदै परिवारजन र आफन्त त्यहाँ पुगिसकेका थिए । ठुलो भिड भेला भइसकेको थियो । सौर्य एयरलायन्सका कोपाइलट सुशान्त कटुवाल उमेरले तीन दशक मात्रै पुग्दै थिए । विराटनगर घर भई भक्तपुरको राधेराधे बस्ने कोपाइलट कटुवालका बुवा ओम कटुवाल एक्लो छोरा विमान दुर्घटनामा परेको सुन्नेबित्तिकै विमानस्थल पुगेका थिए ।
ज्यान गुमाउनेको शव शिक्षण अस्पतालमा लगेपछि उनि पनि पछि पछि त्यहाँ पुगेका थिए । शवगृह बाहिर थुचुक्क बसेका उनका आँखा रसाइरहेका थिए । समवेदना व्यक्त गर्न आफन्त आउँथे । बोल्न नसकी फर्किन्थे । आफूलाई सम्हाल्दै एक घुट्की पानी घुटुक्क पारेर उनि त्यहाँबाट स्तब्धभावमा निस्किए ।
छिमेकी ज्ञानबहादुर खड्काका अनुसार सहचालक कटुवालले फ्रान्सबाट पाइलट अध्ययन पूरा गरी फर्किएका हुन् । उनि ३१ तारिख जर्मनी जाँदै थिए । विमानसम्बन्धी विशिष्ट तालिमका लागि जाने तयारीमा रहेका कटुवालको भिसा प्रक्रिया पूरा भएको थियो । खड्काले भने, “उडानमा जाने इच्छा पनि थिएन कोपाइलटको । नाम परेछ, गयो । असल व्यवहारले चिनिने उनको यस्तो खबरले हामी सबै मर्माहित छौँ ।”
आँखाबाट बग्यो भेल
त्यही भिडमा काठमाडौँ बानेश्वरकी कल्याण सौरे आले आफ्ना दुई छोरालाई अँगालो हालेर डाको छाडेर रुँदै थिइन् । बेला बेला अचेत हुँदा आफन्त र छिमेकीले पानी खुवाउँथे । सौर्य एयरलायन्सका प्राविधिक कर्मचारी नवराज आलेकी पत्नी कल्याणको पीडादायी विलौनाले शवगृह परिसरमा रहेका सबैका आँखा रसाए । उनका र छोराका आँखाबाट भेल नै बगेका थिए ।
छोराले भावविह्वल हुँदै दिएको जानकारी अनुसार धादिङका स्थायी बासिन्दा आलेले सौर्य एयरलायन्समा काम गर्न थालेको छ वर्षभन्दा बढी भएको थियो । त्यसअघि पनि उनले अरू विमान कम्पनीमा काम गरेका थिए । ११–१२ वर्षको उमेरमा धादिङबाट काठमाडौँ आएर अध्ययन पूरा गरी विमान कम्पनीमा काम सुरु गरेका आले बिहान मात्रै ‘पत्नी र छोरालाई चाँडै भेटौँला’ भनेर पोखरा जान निस्किएका थिए । तर उनी परिवारका तिनै सदस्यलाई छोडेर संसार बाटै बिदा भए ।
एकै परिवारका तीनको मृत्यु
सौर्य एयरलायन्सको विमान दुर्घटनामा एकै परिवारका तीन जनाको निधन भएको छ । विमानका प्राविधिक कर्मचारी एवं नेपाल पत्रकार महासङ्घ सप्तरीका पूर्वअध्यक्ष प्रकाश खतिवडाका ज्वाइँ मनुराज शर्मा, छोरी प्रिजा खतिवडा र चार वर्षका छोरा अधिराज शर्माको निधन भएको हो । शर्मा दम्पती नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का प्रचार विभाग सचिव प्रकाश खतिवडाकी जेठी छोरी र ज्वाइँ हुन् भने प्रिजा ऊर्जा मन्त्रालयमा कार्यरत थिइन् । आजको गोरखापत्रमा समाचार प्रकाशित छ ।



प्रतिक्रिया दिनुहोस्