गृहमन्त्री लेखकले नक्कली भुटानी शरणार्थी, टिकापुर जग्गालगायत काण्डका फाइल खोल्लान ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ श्रावण २०८१, मंगलवार
3 Min Read
Aa
नवनियुक्त उपप्रधानमन्त्री लेखक पदभार ग्रहण काठमाडौँ, ३१ असार ः नवनियुक्त उपप्रधानमन्त्री एवं गृहमन्त्री रमेश लेखक सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै । तस्बिर ः विमलबहादुर बिष्ट÷रासस

काठमाडौं – कतिपयले प्रचण्ड सरकार ढल्नुको कारण नक्कली भुटानी शरणार्थी र टिकापु जग्गा तथा गिरीबन्धु चियाबगान माथिको छानविन पनि हो भनिरहेका छन ।

यी लगायत भ्रष्टाचार र अनियमिततासम्बन्धी २५ फाइल खोल्ने तयारीमा रहेका बेला सरकार नै ढालियो भनेर पूर्वगृहमन्त्री रवि लामिछानेले भनेका थिए । यस्ता काण्डमा जसमाथि आरोप लगाइएको थियो, आज उनै व्यक्तिहरु मन्त्रीका रुपमा विराजमान हुँदै गर्दा यी काण्डहरुको छानविन के हुन्छ ? भन्ने स्वभाविक प्रश्न उठेको छ ।

- Advertisement -
Ad image

आरोप लगाइएकी आरजु राणा परराष्ट्र मन्त्री बनिन् । शेरबहादुर देउवाका अति विश्वास पात्र, यो गठबन्धनका डिजाइनर मध्य एक रमेश लेखक गृहमन्त्री बने ।

के अब गृहमन्त्री लेखकले आरजु मुछिएको काण्डको छानविन अघि बढाउलान् ?

नवनियुक्त गृहमन्त्री रमेश लेखकले शान्तिसुरक्षा व्यवस्थापन र अपराध रोकथाम तथा नियन्त्रण आफ्नो प्रमुख प्राथमिकता रहने बताएका छन् ।राष्ट्रपति भवन शितल निवासमा गृहमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएपछि पदभार ग्रहण गर्दै लेखकले कानुनको शासन कायम आफ्नो प्राथमिकतामा रहेको बताएका हुन् ।

उनले आफ्ना लागि गृह मन्त्रालय नयाँ रहेको र कार्यप्रकृति र कार्यबोझ, क्षेत्राधिकार अलि फरक रहेको, तर गृहमन्त्रीका रुपमा बस्दा इमान्दारी र निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता जनाए ।

लेखकले मन्त्री भएर पदभार सम्हालेकै दिन पहिलो निर्णय त्रिशुलीमा २ वटा यात्रुबाहक बस खसेर बेपत्ता भएको घटनाको छानविन गर्न सहसचिव छवि रिजालको संयोजकत्वमा प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सडक विभागका प्रतिनिधि सम्मिलित पाँचसदस्यीय समिति गठन गरेका छन् ।

मन्त्री लेखकले सरकारको प्राथमिकता राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने र अर्थतन्त्रमा देखिएको शिथिलता र संकुचनलाई हटाएर अर्थतन्त्र चलायमान बनाउने रहेको बताए ।

संसद्‌का दुई ठूला दल कांग्रेस र एमाले मिलेर नयाँ सत्ता गठबन्धन बनेपछि गत साता पुष्पकमल दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको थियो । सत्तारुढ एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले प्रतिनिधि सभामा शुक्रबार (असार २८) गते विश्वासको मत मागेका थिए । तर, प्रधानमन्त्री दाहालका पक्षमा कूल सदस्य २ सय ७५ जना रहेको प्रतिनिधि सभामा दाहालले ६३ मत मात्रै पाए, त्यसपछि सरकार ढलेको थियो ।

त्यसलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन एमाले र कांग्रेसले शुक्रबार नै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष दावी पेश गरेका थिए । त्यसपछि संविधानको धारा ७६ (२) अन्तर्गत ओली प्रधानमन्त्रीमा नियुक्त भएकामा सोमबार नयाँ मन्त्रिमण्डलका सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन् । अपराध र भ्रष्टाचारका केही ठूला प्रकरणका फाइल खोलिएपछि सरकार नै ढाल्न एमाले–कांग्रेस लागेको भन्दै सदनमा विश्वासको मत लिने दिन प्रधानमन्त्री दाहाल र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप लगाएका थिए ।

खासगरी नक्कली भुटानी शरणार्थी प्रकरण, टिकापुर जग्गा प्रकरण, बालमन्दिर, बाँसबारी छाला जुत्ता जग्गा प्रकरणलगायतका फाइल खोलिएपछि सरकार ढालिएको दाहाल र लामिछानेले सदनबाटै आरोप लगाएका थिए । केही भ्रष्टाचार र अपराधमा प्रकरणमा कांग्रेस–एमालेलगायतका नेताहरुको नाम जोडिने गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणका संदिग्ध पात्र बेचन झा पक्राउ परेपछि उनीमाथि काठमाडौं परिसरमा अनुसन्धान जारी छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्